कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भोली विश्वासको मत लिनुहुँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोली प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।
संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले उक्त धाराको उपधारा (४) बमोजिम भोली सम्ममा विश्वासको मत लिनैपर्ने बाध्यात्मक अवस्था छ ।
प्रदेशसभा नियमावली २०७४ को नियम १२८ मा विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुने दिनभन्दा दुई दिन अगावै प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्थाअनुसार मुख्यमन्त्री कार्कीले सूचना दिनुभएको हो । भोली बस्ने प्रदेशसभामा उहाँले प्रस्ताव पेस गर्नुहुने छ ।
नेकपा एमाले कोश प्रदेश सभाका प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मत लिन प्रयत्न जारी रहेको बाउनुभयो । विश्वासको मत प्राप्त नगरे दलीय नियन्त्रण भन्दा बाहिर जाने भएकाले अहिलेको सरकारलाई समर्थन गर्न दलहरूलाई उहाँले आग्रह गर्नुभयो । मध्यावधि निर्वाचनमा जान कुनै पनि दल नचाहेको र देशको परिस्थिति पनि चुनावका लागि उचित नभएको भण्डारीले बताउनु भयो ।
यस्तै नेपाली कांग्रेसका कोशी प्रदेशसभाका प्रमुख सचेतक भुपेन्द्र राईले प्रदेश सरकार अहिले तत्काल मध्यावधि निर्वाचनमा नजाने र १६८ उपधारा ५ अनुसारको सरकार नै स्थायी सरकार हुने बताउनुभयो ।
नेकपा एमाले नेतृत्वको सरकारलाई नेपाली कांग्रेस सहितको गठबन्धनले विश्वासको मत नदिने निर्णय गरेको उहाँले बताउनुभयो ।
नेकपा माओवादी संसदीय दलका नेता इन्द्र बहादुर आङवोले अहिलेको सरकारलाई विश्वासको मत नदिने बताउँदै गठबन्धनकै नेतृत्वमा सहमतीय सरकार बन्ने दाबी गर्नुभयो । उहाँले कोशी प्रदेशमा मध्यावधि निर्वाचन नहुने तर्क समेत गर्नुभयो ।
यस्तै नेकपा एकिकृत समाजवादी कोश प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले सकभर गठबन्धन दलकै नेतृत्वमा सरकार निर्माण गर्ने नभए सहमतिको आधारमा राप्रपा सँग पनि छलफल गरेर सरकार निर्माणमा सहयोग माग्ने बताउनुभयो । अब विश्वासको मत लिँदा गठबन्धन सँग स्पष्ट बहुमत भएकोले गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुने उहाँको भनाइ छ ।
राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भोली हुने प्रदेश सभामा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त नगरे सबै दल मिलेर प्रदेश लाई मध्यावधि निर्वाचन वाट रोक्नुपर्ने बताउनुभयो । अहिलेको अवस्थामा मध्यावधि निर्वाचन भन्दा सवै दल एक जुट भएर अघि वढनुपर्नेमा उहाँले जोड दिनुभयो ।
९३ सदस्यीय कोश प्रदेशसभामा एमालेका उपसभामुखसहित ४० सांसद रहेका छन् गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ सांसद छन् भने राप्रपाका ६ जना सांसद रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्