तपाईँ सुन्दै हुनुहुन्छः

‘बेरोजगारी समस्या समाधानका लागि निजी क्षेत्र र सरकारबीच साझेदारी अपरिहार्य’

काठमाडौँ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले देशमा व्याप्त बेरोजगारी समस्या समाधानका लागि निजी क्षेत्र र सरकारबीच साझेदारी र सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘सीपमूलक तालिमका सम्भावना र योजना’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले लहडको भरमा भन्दा पनि बजारको मागबमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गरिनुपर्ने बताउनुभयो ।

महासङ्घको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. महतले नेपालबाट दैनिक रोजगारीका लागि विदेश पलायन भइरहेको अवस्थामा महासङ्घले दक्ष कामदार उत्पादनमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

उहाँले अदक्ष जनशक्ति रोजगारीका लागि बाहिर जाँदा सोचेअनुरुपको आर्थिक लाभ लिन नसकेको अहिलेको अवस्था सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले एकातिर देशमै दक्ष मानव संसाधनको अभाव हुनु र अर्कोतिर बेरोजगारी दर बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो ।

उहाँले देशभित्र र बाहिरका लागि दक्ष जनशक्ति उत्पादन गर्न तालिम तथा रोजगारका क्षेत्रमा सरकारले गर्ने काममा कहाँ, के सुधार गर्नुपर्छ त्यसका लागि सरकार तयार रहेको बताउनुभयो । मन्त्री महतले देशमा विभिन्न किसिमका व्यावसायिक तालिमहरू निजी क्षेत्र, वैदेशिक रोजगार विभाग, सीटीईभीटी, श्रम विभाग लगायतले सञ्चालन गरे पनि परिणाममुखी बन्न नसकेकोमा दुखेसो पोख्नुभयो ।

देशभरका तालिम तथा रोजगार प्रदायक संस्थाहरूको छाता सङ्गठन नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले विगत नौ वर्षदेखि प्राविधिक तथा सीपमूलक जनशक्ति उत्पादन गर्दै आइरहेको महासचिव छत्र बमले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button