तपाईँ सुन्दै हुनुहुन्छः

निर्माण व्यवसायीलाई भुक्तानी तत्काल दिने व्यवस्था मिलाउन सांसद्हरुले माग

काठमाडौँ । निर्माण व्यवसायीलाई सम्पन्न भएका आयोजनाको भुक्तानी तत्काल दिने व्यवस्था मिलाउन सांसद्हरुले माग गर्नुभएको छ । 

प्रतिनिधि सभा, अर्थ समितिको मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा सम्बन्धमा आज सिंहदरबारमा बसेको बैठकमा  सांसदहरुले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नहुँदा निमार्णको कार्यले गति लिन नसकेको भन्दै तत्काल भुक्तानी गर्न माग गर्नुभयो ।

सांसद्हरुले मुलुकको आर्थिक अवस्थामा सुधार आउन नसकेको भन्दै अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद्हरुले भन्सार नाकामा भइरहेको करछली, भ्रष्ट्राचार र अनियमितता अन्त्यका लागि करछली गर्नेलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

बैठकमा अर्थ सचिव कृष्णहरि पुष्करले मुलुकको आर्थिक अवस्था सुधारका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको भन्दै सबै क्षेत्र गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । 

चालु आर्थिक वर्षको  हालसम्म सम्म  १ खर्ब ६८ अर्ब  ९१ करोड रुपैयाँ राजश्व सङ्कलन भएको  छ, जुन वार्षिक लक्ष्यको  करिब १२ प्रतिशत राजश्व सङ्कलन भएको बैठकमा अर्थ मन्त्रालयद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सरकारको चालु खर्च १ खर्ब ४२ अर्ब ६३ करोड रुपैयाँ , पुँजीगत खर्च १० अर्ब  ८३ करोड  र वित्तीय व्यवस्था तर्फ ३७ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button