तपाईँ सुन्दै हुनुहुन्छः

इलामको पाथीभरा मन्दिर छानविन समितिको प्रतिवेदन सार्वजनिक, ८८ लाखबढीकाे देखिएन हिसाब

इलाम । इलामको प्रसिद्ध तीर्थस्थल  रोङ गाउँपालिका स्थित सानो पाथीभरा मन्दिरको भेटी रकमबारे छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ । 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोे उपाध्यक्ष विष्णुमाया  खवास छानविन समितिका पदाधिकारीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय इलाममा पत्रकार सम्मेलन गरी छानबिन प्रतिवेदन सार्वजनिक गर्नु भएको हो । 

जिल्ला प्रशासन कार्यालयले गत २३ जेठमा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको छानबिन समितिले गत भाद्र ३१ गते प्रतिवेदन बुझाए थियो । 

पाथीभरा संरक्षण समितिले बिगत ५ वर्षको हिसाब पारदर्शी रुपमा नराखेको पाइएको छ । साथै आम्दानी र खर्चको पनि राम्रो हिसाब नराखेको तथा आन्तरिक अडिट चुस्त नभएको अडिट नगरिएको भन्ने जनताको व्यापक गुनासो पछि रोङ गाउँपालिकाले मन्दिरको व्यवस्थापन गाउँपालिका मातहत ल्याउँदै नयाँ व्यवस्थापन समिति गठन गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले छानविन समिति बनाएर छानविन गरेको प्रतिवेदनमा ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ बराबरको हिसाब देखिएको छैन भने १७ लाख ६६ हजार ९ सय ९ रुपैयाँ बैङ्क मौज्दातमा रहेको उल्लेख छ ।
छानबिन समितिले गरेको अध्ययनको आधारमा आर्थिक वर्ष ०७५।७६ देखि ०७९ माघ मसान्तसम्म मन्दिरको आम्दानी ३ करोड १४ लाख ६२ हजार नौ २९ रुपैयाँ मध्ये दुई करोड २० लाख ९१ हजार दुई ४२ रुपैयाँ मात्र खर्च देखिएको प्रतिवेदन सार्वजनिक गर्दै प्रजिअ पोखरेलले जानकारी दिनु भयो । 

आव ०७५/७६ मा ८६ लाख ६ हजार ६ सय ६४ आम्दानी ९१ लाख ९१ हजार १ सय ९५ खर्च  ०७६/७७ मा ७१ लाख ४३ हजार ३ सय ४५ आम्दानी ५० लाख २५ हजार ७ सय ७० रुपैयाँ खर्च भएको जनाइएको छ भने  ०७७/७८ मा ४२ लाख ३ हजार ५ सय ३४ रुपैयाँ आम्दानी ३६ लाख ५० हजार ६ सय २२ रुपैयाँ खर्च ०७८।७९ मा ८२ लाख १ हजार ७ सय ७३ आम्दानी २८ लाख १३ हजार ७ सय ७८ रुपैयाँ खर्च र ०७९ माघसम्म ३३ लाख ७ हजार ६ सय १२ रुपैयाँ आम्दानी १८ लाख ९ हजार ८ सय ७७ रुपैयाँ खर्च भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धानबाट आएको तथ्याकंको आधारमा ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ पाथीभरा संरक्षण संस्थासँग मौज्दात देखिए पनि त्यो रकम कहाँ छ भन्ने एकिन नभएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । 

प्रजिअ पोखरेलले अध्ययनका लागि भन्दै तत्काल प्रतिवेदन सार्वजनिक नगर्ने बताए पछि गाउँपालिकाले ४ असोजमा पत्रकार सम्मेलन गरेर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । सो क्रममा कतै दोषीलाई बचाउन त अध्ययन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको त छैन भन्दै गाउँपालिका अध्यक्ष स्याङबोले आशङ्का पनि ब्यक्त गर्नु भएको थियो करिब १ साता पछि जिल्ला प्रशासन कार्यालयले छानविन प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाले चाटर एकाउनटेन प्रव्जल अधिकारीलाई पालिकाको तर्फबाट छानविन समितिमा पठाएको थियो । उहाँले नै तयार पार्नु भएको सो अध्ययन प्रतिवेदनमा उल्लेखित विवरण र छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनको विवरणमा केही भाषागत बाहेक अकंमा एकरूपता देखिएको छ ।
इलामको  भक्तजनको उच्च चाप हुने सानो पाथीभरा मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी गत १ फागुनदेखि गाउँपालिकाले लिएको छ ।

पालिकाको मातहतमा आएपछि फागुनयता करिब ७ महिनामा मात्र १ करोड ६ लाख ११ हजार ३ सय ४४ रुपैयाँ भेटी सङ्कलन भएको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो । पुरानो समितिले विगत ५ वर्षमा ३ करोड मात्र भेटी सङ्कलन गरेको देखिएको छ । 

 गाउँपालिका अध्यक्ष स्याङबोले गाउँपालिकाको पटक पटकको प्रयास र मेहनतमा छानविन समिति बनेको र आज सार्वजनिक प्रतिवेदनको आधारमा अब यथाशीघ्र कारबाहीको प्रक्रियामा जानु पर्ने बताउनु भयो । उहाँले आफूहरूले पवित्र उद्देश्य राखेर पाथीभराको विकासमा कदम चालेको र अरू शौन्दर्यकरणको लागि काम भइरहेको भन्दै सबै पक्षबाट साथ सहयोगको अपेक्षा राखेको पनि बताउनु भयो । 

छानविन प्रतिवेदन सार्वजनिक गर्दै  प्रजिअ पोखरेलले प्राप्त प्रमाणको आधारमा पाथीभरा संरक्षण संस्थालाई कानुनी कारबाही गर्ने प्रक्रियामा जाने प्रतिबद्धता जनाउनु भयो  । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयसँग छलफल र परामर्श गरेर संस्था तथा संस्थाका पदाधिकारी र सदस्यहरूलाई कानुन बमोजिम कारबाही गर्ने प्रक्रियामा जाने बताउनु भयो ।
देश विदेशका भक्तजनको ठुलो आस्था रहेको पाथीभरा मन्दिरमा शनिवार र मगंलबार ठुलो सँख्यामा  भक्तजन आउने गरेका छन्  भने अन्य दिन पनि श्रदालुहरुको बाक्लो उपस्थिति रहने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button