तपाईँ सुन्दै हुनुहुन्छः

इन्टर कलेज ब्यान्ड प्रतियोगिताको फाइनल राउण्डमा ११ कलेज छनौट

पोखरा । पोखरामा शुक्रबार भएको इन्टर कलेज ब्यान्ड प्रतियोगिता अन्तर्गत फाइनल राउण्डमा ११ वटा कलेज छनौट भएका छन् ।

पोखरा साङ्गीतिक कलाकार सङ्घको आयोजनामा पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाइनल राउण्डमा ११ वटा कलेज छनौट भएका हुन् ।

प्रतियोगिताको फाइनल राउण्डमा मदरल्याण्ड मावि, प्रतिभा मावि ‘सी’, सगरमाथा मावि, कुमुदिनी होम्स, लाभेन्ज बोर्डिङ स्कुल, ईन्फोमेटिक्स कलेज, ग्लोबल कलेजियट, पोखरा एकेडेमी, लिङ्कन कलेज, प्रगति बोर्डिङ स्कुल ‘बी’ र कालिका मावि छनौट भएको पोखरा साङ्गीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङले बताउनु भयो ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री विन्दुकुमार थापाले कला र सङ्गीतको विकास गर्न राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो ।

पोखराको साङ्गीतिक माहोल तताउँदै ब्यान्डहरूलाई पुनः जागृत गराउने उद्देश्यले इन्टर कलेज ब्यान्ड कम्पिटिसन गर्न लागेको पोखरा साङ्गीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङले बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेस्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाई पनि नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button