मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालयको छड्के अनुगमन
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले पशुपन्छी विकासअन्तर्गतका केन्द्रीय कार्यालयको छड्के अनुगमन गर्नुभएको छ ।

उहाँले त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिर्फल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषद्को छड्के अनुगमन गर्नुभएको हो ।
मन्त्री भुसालले पशुपन्छीमा लाग्ने अन्य रोगको खोप उत्पादनसम्बन्धी वस्तुस्थिति, पशुपन्छीको रोग निदान गर्ने प्रयोगशालाको भौतिक पूर्वाधारको अवस्था, आवश्यक जनशक्तिको अवस्था, प्रयोगशालामा सञ्चालनमा नआएका मेसिनको अवस्थाबारे जानकारी लिनुभयो ।
कार्यालय समयमै छड्के अनुगमनका क्रममा हालसम्म भएका कार्य प्रगतिको जानकारी लिँदै उहाँले लम्पी स्किन रोगको कारण देशभरका पशुमा क्षति पुगिरहेको बेला यस रोगको निदानका लागि तत्कालै गर्नुपर्ने काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
कार्यालयका प्रमुख पशु चिकित्सक डा टङ्कप्रसाद प्रसाईँले लम्पी स्किन रोगको नियन्त्रणका लागि भ्याक्सिन अनिवार्य भएको र यसको खोप उत्पादन गर्ने गरी राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले काम गरिरहेको जानकारी गराउनुभयो । उहाँले लम्पी स्किन रोगको नियन्त्रणका लागि कार्यालयले भ्याक्सिन उत्पादनका लागि चाहिने आवश्यक पूर्वाधार बनाइसकेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्