मोरङको शान्ति सुरक्षाको अवस्था र चुनौतीबारे छलफल
विराटनगर । मोरङ जिल्लाको शान्ति सुरक्षाको अवस्था र चुनौतीबारे छलफल तथा अन्तरक्रिया सम्पन्न भएको ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा नागरिक समाज, उद्योगी व्यापारी, मानवअधिकारवादी लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा पत्रकारसँग सो विषयमा छलफल भएको थियो ।
प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागीहरूले सीमा नाकाबाट हुने भन्सार चोरी पैठारी, घरेलु हिंसा, सामुदायिक प्रहरीको अवस्था, ट्राफिक व्यवस्थापन, मानवअधिकारको व्यवस्था लगायतका विषयमा विभिन्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग विराटनगरका प्रमुख पवन कुमार भट्ट, इन्सेकका प्रमुख सोमराज थापा, उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना, माइती नेपालका विनोद पोखरेल, सामुदायिक प्रहरी सेवा केन्द्रकी मिना जोशी, पत्रकार मोहन मानन्धर, सोनुकुमार दास, श्याम सुन्दर सुतिहार, गोपाल पोखरेल लगायतले सुझाव दिनुभएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले अहिलेको अवस्थामा नेपाल प्रहरीलाई काम गर्न कुनै पनि दबाब र प्रभाव नभएको भन्दै सहभागीबाट आएका गुनासा अक्षरशः पालना हुने बताउनुभयो ।
उहाँले नेपाल प्रहरीलाई पारदर्शी र उत्तरदायी बनाउन प्रहरीमा शुद्धीकरण र सुदृढीकरण अभियान सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले शान्ति सुव्यवस्था कायम गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्