पोखरा महानगरपालिकाभित्र सञ्चालन भएको निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी हुँदै

पोखरा । पोखरा महानगरपालिकाका केही वडाहरूबाट सुरु भएको निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ ले पोखरामा आफ्ना वडा बासीको लागि नयाँ आर्थिक बर्ष देखि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेसँगै यही असोजबाट भने पोखराका थप २ वटा वडा पोखरा १६ र १९ ले पनि आफ्ना वडावासीको सेवालाई मध्यनजर गरी गरिएको निःशुल्क एम्बुलेन्स सेवा हाल प्रभावकारी भएको वडा अध्यक्षहरूले बताउनु भएको छ ।
उक्त वडाहरूबाट हाल दैनिक ३/४ जनाले प्रत्यक्ष रुपमा सेवा लिन थालेको वडा अध्यक्षहरूले जनाउनु भएको छ । आफ्नो वडाका जनताको सेवालाई प्रभावकारी बनाउने अभियान अन्तर्गत एउटा सानो कामको सुरुवात वडावासीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएसँगै यसको उपयोग प्रभावकारी हुँदै आएको पोखरा १३ का वडा अध्यक्ष किरण बरालले बताउनु भयो ।
उक्त एम्बुलेन्स सेवा सञ्चालनको लागि आफूहरूले एउटा एम्बुलेन्स चौबिसै घण्टा स्ट्याण्डवाई राख्दै आएको र हाल दैनिक जसो ३ देखि ४ जना लाभान्वित हुने गरेको अध्यक्ष बरालले दाबी गर्नु भयो । उक्त सेवा सञ्चालनको लागि वडाले करिब ७ लाख बजेट विनियोजन गरेको छ ।
पोखरामै पहिलो पटक आफ्ना बाडा बासीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रारम्भ गरेको पोखरा १३ ले अति विपन्न, मजदुरहरूको लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम समेत ल्याउँदै छ । वडा कार्यालयले यही असोज २० गते भित्र वडामा रहेका अति विपन्न, मजदुरहरूको लागि वडामा सम्पर्क गर्न वा उक्त निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुनको लागि आव्हान नै गरेको छ । न्यूनतम २ सय घर परिवारका करिब ५ सय जनलाई उक्त निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने लक्ष्य राखिएको वडा अध्यक्ष बरालले बताउनु भयो । ३ हजार ५ सय को एक घर परिवारलाई गरिने स्वास्थ्य बिमा कार्यक्रमबाट एक वर्षसम्मको लागि परिवारका ५ जनासम्मको लागि एक लाखसम्म उपचार निःशुल्क हुने गर्दछ ।
यसैबिच पोखरा महानगरपालिका वडा नं. १६ र १९ मा पनि यही असोजबाटै निःशुल्क एम्बुलेन्स सेवा सुरु भएसँगै निकै प्रभावकारी हुँदै आएको छ । पोखरा महानगरपालिका वडा नं. १६, १९ र नव आदर्श सामुदायिक विकास समाज लामाचौर तथा मातृशिशु मितेरी अस्पताल बिच निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको थियो । हाल दैनिक जसो प्रत्येक वडाबाट ३/४ जना सेवाग्राही सम्पर्कमा आउने गरेको अस्पतालले जनाएको छ ।
अस्पतालहरूसम्म पुग्नका लागि नव आदर्श सामुदायिक विकास समाजले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा वडा अध्यक्षद्धय अमृत शर्मा तिमील्सीना र पुष्पेन्द्र पाण्डे तथा समाजका अध्यक्ष स्वागत मानसिं भण्डारी र अस्पतालका स्वास्थ्य सेवा प्रमुख धर्मदेव ढकालले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार नव आदर्श सामुदायिक विकास समाजले पोखरा १६ र १९ का वडावासीहरूलाई बिरामी भई उपचारका लागि अस्पतालसम्म जानका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ । उपचार पश्चात् घर फर्कन परेमा एम्बुलेन्स तथा उपचारका क्रममा मृत्यु भएमा सववाहन सेवा समेत समाजले उपलब्ध गराउने भएको छ तर, सेवाका लागि पोखरा १६ र १९ मा स्थायी बसोबास गरिरहेको भन्ने प्रमाण खुल्ने कागज भने सेवाग्राहीले अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ ।
सेवाबापत वडा कार्यालयहरूले समाजलाई भुक्तानी दिनेछ । आफ्ना नागरिकहरूका लागि निःशुल्क व्यवस्था गरिएको भए पनि वडा कार्यालयको तर्फबाट भने सेवाबापतको रकम भुक्तानी गर्ने व्यवस्था सम्झौतामा उल्लेख छ ।
सम्झौता अनुसार पोखरा १६ र १९ का जनताले नव आदर्श सामुदायिक विकास समाज र मातृशिशु मितेरी अस्पतालद्वारा सञ्चालित एम्बुलेन्स तथा शव वाहनबाट चौबिसै घण्टा निःशुल्क सेवा लिन सक्ने पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सीनाले बताउनुभयो । पहाडी भेगमा समेत आफ्नो वडा परेकोले आफ्ना वडावासीको लागि उक्त सेवा निकै आवश्यक भएको पोखरा १९ का वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्