तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज महानगरले २ सय ५७ सरसफाई कर्मचारी हटाएपछि नगरको सरसफाई प्रभावित

वीरगंज । वीरगंज महानगरपालिकाका पालिकामा एक साथ सरसफाईमा कार्यरत २ सय ५७ जना कर्मचारीलाई हटाएपछि नगर क्षेत्रको सरसफाई प्रभावित भएको छ । 

हाल महानगरपालिकामा सरसफाईमा कार्यरत ३२ जना सफाइकर्मी र ८ जना कार्यालयमा काम गर्ने व्यक्तिहरू मात्रै बाँकी रहेपछि सरसफाई प्रभावित  हुन पुगेको वीरगंज महानगरपालिकाका सरसफाई फाँटका प्रमुख सरफुद्दिन मियाले जानकारी दिनुभयो ।

बीरगंज महानगरपालिकाले एक साथ दैनिक ज्यालादारी र डोर हाजिरमा कार्यरत ४ सय ९० जना कर्मचारी हटाएको र ती मध्ये २ सय ५७ जना सरसफाईमा कार्यरत  कर्मचारी हटेपछि महानगरपालिकाको सरसफाईमा समस्या भएको छ । 

महानगरपालिकाको सरसफाईमा दैनिक ज्यालादारीको रुपमा १२/१५ वर्षदेखि नियमित रुपमा काम गरि रहेका २५ भन्दा बढी कर्मचारी समेत हटेको गुनासो गर्दै दैनिक रुपमा वीरगंज महानगरपालिकाले सरफाई गर्दै आएको नारायणी अस्पताल, बीरगंज कारागार, उच्च अदालत, जिल्ला अदालत, भारतीय महावाणिज्य दूतावास लगायतका क्षेत्रमा समस्या देखिएको छ । 

त्यसैगरी महानगरपालिकाले दैनिक रुपमा गर्ने बेवारिसे लास व्यवस्थापन, मरेका गाई, भैँसी, घोडा साढेको व्यवस्थापनमा समेत समस्या भएको र नाला काट्ने तथा बाटोको किनारका झाडी तथा घाँस हटाउने कार्य समेत प्रभावित भएको छ । 

उत्पन्न समस्या समाधानका लागि आफूले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई बारम्बार जानकारी गराएको बताउँदै महानगरपालिकाका सरसफाई फाँट प्रमुख सरफुद्दिन मियाँले वैकल्पिक व्यवस्था गरेर भए पनि सरसफाई प्रभावित हुन नदिन आफूहरू प्रतिबद्ध रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button