अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगितामा आयोजक सिमरा भेट्रान क्लबको विजयी सुरुवात
बारा । बाराको सिमरामा जारी अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगितामा आयोजक सिमरा भेट्रान क्लबले विजयी सुरुवात गरेको छ ।
सिमरा रङ्गशालामा भएको तेस्रो संस्करणको उद्घाटन खेलमा नवलपरासीको अभिषेक चर्च भेट्रान क्लबलाई ४–२ ले पराजित गर्दै आयोजकले सानदार सुरुवात गरेको हो । आयोजकको जितमा दिपेन राईले तीन गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो । निर्धारित ६० मिनेटको खेलमा राईले २६, ३८ र ४५ औँ मिनेटमा गोल गर्नुभएको थियो । आयोजकका लागि चौथो गोल गोपीप्रसाद भट्टले गर्नुभयो ।
यता पहिलो खेलमै निराश बनेको अभिषेक चर्चका लागि यमु राना र हरिबहादुर महतोले एक/एक गोल फर्काएपनि हार टार्न सकेनन् । खेलको म्यान अफ दि म्याच आयोजकका राई घोषित हुनुभयो ।यसअघि प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख पौडेलले समग्र खेलकुद क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताउनुभयो ।उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष दावा लामा, मधेस प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्की, बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामालगायत जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सुरक्षा निकायका अधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
सिमरा भेट्रानका अध्यक्ष राजकपुर राउतको अध्यक्षतामा भएको प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछ । स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा प्रत्येक वर्ष आयोजना हुने प्रतियोगितामा यस वर्ष बङ्गलादेश, भारत र नेपालका १२ टिमले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्