‘सामाजिक सेवा दिवस, सामाजिक कार्यप्रतिको सम्मान’
सुर्खेत । ४४ औँ सामाजिक सेवा दिवस सुर्खेतसहित देशभर विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

दिवसको अवसरमा गैरसरकारी संस्था महासङ्घ कर्णाली प्रदेशले आज सुर्खेतको वीरेन्द्रनगरमा वृद्धा आश्रम रहेका असहाय तथा वृद्धवृद्धालाई फलफूल वितरण गर्नुका साथै सुर्खेतका तीन जनालाई नागरिक सम्मानसहित अन्तरक्रिया कार्यक्रम गर्यो ।
महासङ्घले वरिष्ठ कलाकार प्रेमदेव गिरी, चर्चित सामाजिक अभियन्ता मिनबहादुर शाही र शैक्षिक तथा बौद्धिक व्यक्तित्व शिला गुरुङलाई सम्मान गरेको हो ।

नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले समाज सेवा निःस्वार्थ भावले गरिने कर्म भए पनि पछिल्लो समय यसको आवरणमा अनपेक्षित कार्यहरू हुने गरेको बताउनुभयो । उहाँले समाज रूपान्तरण प्रक्रियासँगै समाज सेवाको स्वरूप समेत बद्लिएको जनाउनुभयो ।
कार्यक्रममा सुर्खेतका नागरिक अगुवा पीताम्बर ढकालले सामाजिक सेवा दिवस सामाजिक कार्यप्रतिको सम्मान र सम्झना भएको हुँदा विभिन्न सङ्घसंस्थाले औपचारिकता मात्र नभई विशेष महत्वको दिनका रूप लिन आवश्यक रहेको सुझाव दिनुभयो ।
कार्यक्रममा समाजसेवी हरिप्रसाद अधिकारी, घनश्याम केसी र प्रकाश सारु लगायतले दिवसको महत्वका बारेमा आफ्ना भनाइहरू राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्