तपाईँ सुन्दै हुनुहुन्छः

सहारा फुटबल एकेडेमी अक्षयकोषमा २ करोड ८५ लाख सङ्कलन

पोखरा । सहारा फुटबल एकेडेमी अक्षयकोषमा रकम सङ्कलन हुने क्रम जारी रहेको छ । पोखराको सहारा क्लबले यस वर्ष उक्त कोषमा ४ लाख ७५ हजार १ सय ५५ रुपैयाँ आर्थिक सहयोग सङ्कलन गर्न सफल भएको क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताउनुभयो ।

विगत करिब एक दशकदेखि सुरु गरेको उक्त अक्षयकोषमा हालसम्म २ करोड ८५ लाख रुपैयाँ सङ्कलन भएको हाे । क्लबले सञ्चालन गरेको कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरूको सहारा फुटबल एकेडेमीलाई दीर्घकालीन समयसम्म निरन्तर सञ्चालनका लागि उक्त अक्षयकोषको स्थापना गरिएको महासचिव रामजी प्रसाद अधिकारीले बताउनुभयो । सहारा एकेडेमीलाई दिगो र व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि सहारा क्लबका सहयोगी विभिन्न व्यक्ति तथा संघ संस्थाहरूले उक्त रकम सहयोग गर्नू भएको उहाँले बताउनु भयो ।

सहारा एकेडेमीलाई दिगो र व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि सहारा क्लबका मानार्थ सदस्य, उद्योगपति एवं समाजसेवी स्व.सूर्य बहादुर के.सी.को स्मृतिमा उहाँको परिवारबाट वार्षिक रुपमा १५ लाख सहयोग प्रदान गर्ने गरी १० वर्षको लागि सम्झौता भएको छ ।

विगत ३ वर्षदेखि सहारा एकेडेमीको नामाकरण सूर्य बहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमी रहेको क्लबले जनाएको छ । उक्त सहयोग रकम सहित यस आ.व.मा केसी परिवारबाट २० लाख ९० हजार ६ सय ९० रुपैयाँ प्राप्त भएको क्लबका अध्यक्ष केशवराज बरालले बताउनु भयो । नवनिर्वाचित अध्यक्ष बरालले आफ्नो दुई बर्षीय कार्यकालमा उक्त सहारा फुटबल एकेडेमी अक्षयकोषमा केही रकम थप गर्दै कोष वृद्धि गर्ने बताउनु भयो ।

पोखरा बसपार्कको चौरबाट उदय भएको पोखराको सहारा क्लबले हालै २५ औँ बर्ष गाँठ पुगेको अवसरमा रजत महोत्सव समेत मनाएको छ । फुटबल मार्फत सामाजिक सेवामा निरन्तर क्रियाशील क्लबले पोखरा १७, दोबिल्लास्थित आफ्नै सहारा फुटबल एकेडेमीमा हालै विभिन्न कार्यक्रम सहित रजत महोत्सव मनाएको हो ।

२०५५ भदौ ३० मा फुटबल खेल्ने युवाहरू बीचबाट उदय भएको सहारा क्लब आफ्नाे छुट्टै पहिचान बनाउन सफल क्लब हो । क्लबले चौथो ब्याचमा थप ३० जना कठिन परिस्थिति तथा विपन्न वर्गका बालक भर्ना गर्ने लक्ष्य अनुरुप हालसम्म ११ जना भर्ना लिई सकेको क्लबले जनाएको छ ।

पोखरामा २०६१ सालदेखि सहारा एकेडेमी सञ्चालन गर्दै आएको क्लबले हरेक वर्ष पोखरा रङ्गशालामा फुटबल टुर्नामेन्टलाई निरन्तरता दिँदै आएको छ । २०५८ मा क्याराभानदेखि सुरु भएकोमा गत वर्ष २२ औँ संस्करणकाे आहा रारा पोखरा गोल्ड कप भएको थियो । नेपाली फुटबल टिमका पूर्व क्याप्टेन अनिल गुरुङ सहारा एकेडेमीकै उत्पादन हुनुहुन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button