ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज
काठमाडौँ । वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको ‘विस एचआर सोलुसन’ प्रालिको इजाजतपत्र (लाइसेन्स नं १४२५/०७४/०७५) खारेज गरेको छ । विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम उक्त प्रालिको लाइसेन्स खारेज गरिएको र सोही दफाबमोजिम मुद्दा समेत दायर गरिएको जनाएको छ ।
म्यानपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फणिन्द्र कोइराला समेतको मिलेमतोमा सरिता भुजेल लगायत ४३ जनालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रु तीन करोड ८२ लाख २८ हजार चार सय ९८ रकम लिई वैदेशिक रोजगारीमा नपठाएको र रकम समेत फिर्ता नगरेको पाइएपछि लाइसेन्स खारेज गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार निज म्यानपावरको लाइसेन्स खारेज गर्दै वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा समेत दायर गरिएको छ । उक्त रकम बिगो र सोको ५० प्रतिशतले हुन आउने हर्जाना समेत निज प्रतिवादीहरूबाट जाहेरीवाला पीडितलाई दिलाई भराई पाउन माग दाबी लिई विभागले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष अभियोग पत्र दायर गरिएको निर्देशक एवं सूचना अधिकारी उप्रेतीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्