वीरगंज रक्सौल नाकाको मितेरी पुलको बीचमा भारतद्वारा अस्थायी चेकपोष्ट खडा गरी चेकजाँच शुरु

वीरगंज । भारतीय सुरक्षा बल एसएसबीले वीरगंज रक्सौल नाकाको मितेरी पुलको बीच भागमा आजबाट अस्थायी चेकपोष्ट खडा गरी सुरक्षा चेकजाँच शुरु गरेको छ ।
नेपालले संविधान दिवस मनाई रहँदा भारतीय सुरक्षा बल एसएसबीले भने आज बिहान नेपालको प्रमुख प्रवेशद्वार वीरगंजको मितेरीपुलमा चेक पोष्ट खडा गरी सुरक्षा चेकजाँच शुरु गरेको हो ।
भारतीय अधिकारीहरूका अनुसार चेक पोष्टमा सीमा सुरक्षाबल एसएसबी फ्रण्ट लाइनमा रहने गाइड लाइन पुरानै रहेको छ । तर यसभन्दा पहिला मितेरी पुलमा एसएसबीको चेक पोष्ट रहेको थिएन ।
भारतीय सुरक्षाकर्मीहरूले पछिल्लो पटक केन्द्रिय सरकारको परिपत्र आए अनुसार नै मितेरी पुलमा चेक पोष्ट स्थापना गरिएको जनाएको छ ।
मितेरी पुलमा भारतीय पक्षले चेक पोष्ट स्थापना गरेको जानकारी प्राप्त हुन साथ पुगेको नेपाली टोलीले अन्तर्राष्ट्रिय सीमा सम्बन्धि कानुन अनुसार नै चेक पोष्ट स्थापना गर्न भारतीय अधिकारीहरूसँग कुराकानी गरेका छन् । तथापि एसएसबीले मितेरी पुलको मध्य भागमै चेक पोष्ट स्थापना गरेको छ । अब नेपालबाट भारत जाने सबै सवारी साधन एवं यात्रुहरूको चेक पोष्ट नजिकै चेकिङ हुने भारतीय अधिकारीहरुले बताएका छन् । सशस्त्र प्रहरी बल हेडक्वाटर १३ गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले पोष्ट खडा गरेको नभई अस्थायी रुपमा चेकजाँच सुरु गरेको बताउनुभयो ।
चाडपर्व लक्षित सुरक्षालाई मध्यनजर गर्दै चेकजाँच सुरु गरिएको उहाँले बताउनुभयो । सशस्त्र प्रहरी गएपछि भारतीय एसएसबीले १० मिटर भारततर्फ चेक प्वाइन्ट सारेको कर्माचार्यले जानकारी दिनुभयो । एसएसबीका कमान्डेन्ट बिकास कुमारले माथिल्लो निकायले सिमामा सुरक्षा, चेकजाँच कडा पार्न पत्राचार गरेपछि सोही अनुसार चेक प्वाइन्ट राखेर सुरक्षा जाँच सुरु गरिएको बताएको कर्माचार्यले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले पनि भारतीय पक्षले राखेको चेक प्वाइन्ट देखि नेपालतर्फको भागमा सुरक्षा चेकजाँच अस्थायी पोष्ट स्थापना गर्ने तयारी गरिएको कर्मचायले बताउनु भयो ।
नेपाल भारत मितेरी पुलको आधा भाग नेपाल तर्फ र आधा भाग भारत तर्फ परेको छ । पुलको दशगजा क्षेत्र छाडेर भारतले आफ्नो एरियामा अस्थायी चेकपोष्ट खडा गरि सीमा क्षेत्रमा आवत जावत गर्ने नेपालीहरूलाई कडाइका साथ चेकजाँच समेत सुरु गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्