तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसमा वीरगंज कारागारबाट ३ महिला सहित १७ जना कैदीबन्दीको सजाय मिनाहा

वीरगंज । संविधान दिवसको अवसरमा आज वीरगंज कारागारमा रहेका ३ महिला सहित १७ जना कैदीबन्दीहरुको सजाय मिनाहा भएको छ । 

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधान दिवसको अवसर पारी आज राष्ट्रपति रामचन्द्र पौडेलले देशभरका ६ सय ७० जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकोमा वीरगंज कारागारका १७ जना कैदीको सजाय मिनाहा भएको बीरगंज कारागारका प्रमुख फणिन्द्र दहालले बताउनुभयो । 

वीरगन्ज कारागारबाट बाँकी सजाय मिनाहा भएर आज रिहा भएका कैदीबन्दीहरुमा कर्तव्य ज्यान मुद्दाका ३, अवैध गर्भपतन मुद्दाका २ जना,  लागु औषध मुद्दाका २ जना, सवारी ज्यान मुद्दाका ४ जना, डाँका मुद्दाका २ जना, वन पैदावार चोरी तस्करीका १ जना र चोरी मुद्दाका ३ जना गरी १७ जनाको  सजाय माफी भई आज जेल मुक्त भएको कारागार प्रमुख दहालले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय पर्साको सिफारिसमा राम्रो आचरण भएका ४० प्रतिशत कैद भुक्तान गरिसकेका ज्येष्ठ नागरिक २ जना र ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरेका १५ जना लाई सजाय माफी गरिएको कारागार प्रमुख दहालले बताउनु भयो । 

कैद कट्टी भएर रिहा हुनेहरूलाई कारागारले आज एक कार्यक्रमका बीच पारिवारिक पुनर्मिलन र सामाजिकीकरणको प्रक्रियामा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै बिदाइ गरिएको वीरगंज कारागारका आन्तरिक प्रशासनका चौकीदार दिनेश सर्राफले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button