तपाईँ सुन्दै हुनुहुन्छः

सर्वाधिक राशि भएको खुला फुटसल प्रतियोगिता पोखरामा हुने विजेतालाई ५ लाख 

पोखरा । नेपालकै सर्वाधिक राशि भएको ‘दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता’ पोखरामा हुने भएको छ । ‘परिवर्तनका लागि खेलकुद’ भन्ने नारा सहित राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रङ्गशालास्थित कभर्ड हलमा उक्त प्रतियोगिता असोज अन्तिम साता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो  ।

उक्त प्रतियोगितामा करिब ३० टिम सहभागिता हुने भएको प्रतियोगिता संयोजक आशिष क्षेत्रीले बताउनु भयो । प्रतियोगिताको विजेतालाई नगद ५ लाख नगद पुरस्कार  प्रदान गरिने भएको उहाँले जनाउनु भयो । संस्थाले पहिलो संस्करणमा उपाधि विजेतालाई भने ३ लाख प्रदान गरेको थियो ।

त्यसै गरी प्रतियोगितामा उपविजेताले ३ लाख रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने भएको छ । विधागततर्फ प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५/२५ हजार रुपैयाँबाट पुरस्कृत हुनुहुने भएको छ । प्रतियोगितामा सहभागिता हुनका लागि २५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ । संस्थाका अध्यक्ष राजन गुरुङले सो प्रतियोगिता आगामी असोज २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने बताउनु भयो । उहाँले राष्ट्रिय फुटसल लिग च्याम्पियन पोखराको स्पोर्टस् क्यासल प्रालिसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्ने बताउनु भयो । 

यसअघि सम्पन्न पहिलो संस्करणको प्रतियोगितामा आयोजक र स्पोर्टस् क्यासलबाट खेलेका ४ जना खेलाडी राष्ट्रिय फुटसल टिममा परेकाले आफूहरूलाई थप हौसला मिलेको अध्यक्ष गुरुङले बताउनु भयो । यो वर्ष मङ्गोलियामा हुने प्रतियोगिता लागि घोषणा भएको नेपाली टोलीमा स्पोर्टस् क्यासलको तर्फबाट सुमित श्रेष्ठ (मेस्सी), राम शाही, र दिपेश घल छन् भने राजन एण्ड द ब्रदर्शबाट खेलेका आरुष सिंह ठकुरी पनि नेपाली टोलीमा स्थान बनाउनु भएको छ । अध्यक्ष गुरुङले यसपटक ‘परिवर्तनका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन गर्ने बताउँदै भन्नुभयो, ‘पहिलो संस्करणमा खेलेका ४ जना भाइहरू यसपटक राष्ट्रिय टिममा पर्नु भएको छ । त्यसैले यो प्रतियोगिताबाट पनि उदीयमान र नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउने उहाँले विश्वास व्यक्त गर्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button