प्रदेश मन्त्रालय र रेडियो नेपालबीच सम्झौता
विराटनगर । विपद् व्यवस्थापन तथा अहिले देखिएको डेंङ्गी, लम्पी स्किन रोग रोकथाम सम्बन्धी सूचना सन्देश उत्पादन गरी प्रसारण गर्नका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटाबिच सम्झौता भएको छ ।

सम्झौता पत्रमा मन्त्रालयका उप–सचिव गणेश नायक, सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख नारायण भण्डारी एवं रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्रामका कार्यक्रम अधिकृत नयराज नेपाल र वरिष्ठ कार्यक्रम सहायक बलराम दाहालले हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा शाखा प्रमुख भण्डारीले यस प्रकारका सार्वजनिक हितका सूचना सरकारी सञ्चार माध्यमबाट प्रसारण हुँदा आम नागरिकमा विश्वसनीयता बढ्ने र सङ्क्रामक रोगको न्युनिकरण तथा विपद् व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो ।
रोग रोकथाम तथा विपद् व्यवस्थापन सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले मन्त्रालयले रेडियो नेपालसँग सम्झौता गरेको हो । सम्झौता अनुसार उक्त सामग्री २ सय ४० पटक प्रसारण गर्नुपर्ने छ ।
कार्यक्रममा मन्त्रालयका अधिकृत सुभाष ओझा र सञ्चार ग्रामका प्रशासकीय अधिकृत मनोजकुमार गुप्ताको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्