तपाईँ सुन्दै हुनुहुन्छः

साताको शेयर बजार : चार दिनको कारोबारमा एक दिन घट्यो तीन दिन बढ्यो नेप्से

काठमाडौँ I यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार शेयर बजारमा यो हप्ता चार दिनमा कूल रु पाँच अर्ब १० करोड ९५ लाख ५९ हजार सात सय २१ बराबरको कारोबार भएको छ ।  साताको पहिलो दिन आइतबार परिसूचक १० दशमलव २३ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६८ पुगेर रु एक अर्ब सात करोड २२ लाख १२ हजार चार सय १८ मूल्य बराबरको कारोबार भएको थियो । उक्त दिन ३३ हजार ६४ पटकको कारोबारमा ४३ लाख १४ हजार चार सय १७ इकाई शेयर कारोबार भएको थियो । 

त्यस्तै कारोबारको दोस्रो दिन सोमबार परिसूचक ४४ दशमलव ३० अङ्कले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा पुगेको थियो । यस दिन विभिन्न कम्पनीका कूल ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता शेयर ३७ हजार सात सय ९९ पटक खरिद बिक्री हुँदा रु एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार तीन सय ९७ बराबरको कारोबार भएको थियो ।

साताको काराेबारमा लगातार दुई दिन बढेर तेस्रो दिनको कारोबार भने घटेको थियो । मङ्गलवार नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अङ्कको विन्दुमा आएको थियो । यस दिन दुई सय ७६ कम्पनीका ३९ लाख १६ हजार एक सय ६१ कित्ता शेयर २६ हजार तीन सय दुई पटक खरिद बिक्री हुँदा रु एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ बराबरको कारोबार भएको छ ।

बुधवारको कारोबार मापक नेप्से परिसूचक अघिल्लो दिनका तुलनामा ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा पुगेको थियो । यस दिन दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिद बिक्री हुँदा रु एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको थियो । बिहीबार संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङका निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले नेप्सेसमेत बन्द भएको थियो भने शुक्रवार कारोबार बन्द हुने गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button