‘संविधान बनाउन नेम्वाङले खेल्नुभएको भूमिका इतिहासले स्मरण गर्छ’
काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान बनाउन खेल्नुभएको नेतृत्वदायी भूमिका नेपाली इतिहासले सधैँ स्मरण गरिरहने जनाएको छ । नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै फाउन्डेसनले आज जारी गरेको शोक वक्तव्यमा नेपालको संसदीय राजनीतिलाई उहाँले लगाउनुभएको गुण सदा स्मरणीय रहने उल्लेख गरिएको छ ।
नेम्वाङले नेपालमा गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान बनाउन खेल्नुभएको नेतृत्वदायी भूमिका नेपाली इतिहासले सधैँ स्मरण गरिरहने फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री शशाङ्क कोइराला र सदस्यसचिव अतुल कोइरालाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
“संसदीय अभ्यासलाई मर्यादित र परिपक्व बनाउन उहाँले खेल्नुभएको भूमिका भावी पुस्ताका लागि सदा स्मरणयोग्य छ”, वक्तव्यमा उल्लेख गरिएको छ, “उहाँको निधनपछि मुलुकले एक इमान्दार, निष्ठावान् र परिपक्व नेता गुमाएको छ । फाउन्डेसनले शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दै धैर्यधारण गर्ने शक्तिको कामना पनि गर्दछ ।” नेम्वाङको असामयिक निधनको खबरले फाउन्डेसनलाई मर्माहत बनाएको वक्तव्यमा भनिएको छ ।








प्रतिक्रिया राख्नुहोस्