१४ वर्षका किशोरीलाई क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन

काठमाडौँ । सरकारले सातै प्रदेशमा किशोरीहरूका लागि पाठेघरको क्यान्सरविरुद्धको खोप अभियान कार्यक्रम आजदेखि सञ्चालन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले थापाथलीस्थित प्रसूति गृहमा खोप अभियानको उद्घाटन गर्नुभएसँगै सातै प्रदेशमा १४ वर्ष उमेरका किशोरीका लागि खोप उपलब्ध गराइएको हो ।
नेपालमा महिलाहरूलाई देखिएको क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर एक नम्बरमा पर्छ । तीन जना महिलामा यो क्यान्सर भएमा दुई जनाको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ ।

नेपाली महिलालाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी भएकाले त्यसलाई रोक्न सरकारले किशोरीका लागि क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।
काठमाडौँको थापाथली स्थित प्रसूति गृहमा पाठेघरको क्यान्सरविरुद्ध खोप लगाउन आउनु भएका किशोरीहरूले खोप लगाएपछि आफूहरूले सुरक्षित महसुस गरेको बताउनुभयो ।
खोप लगाइसकेपछि किशोरीहरू स्मिता ढुङ्गेल, मेघा भट्ट र आइरिस मानन्धरले पाठेघरको क्यान्सरको जोखिमबाट आफूहरू सुरक्षित अनुभव गरेको बताउनुभयो ।

उहाँहरूले परिचय र उमेर खुल्ने कागजात लिएर खोप लगाउन आएको र पाखुरामा खोप लगाएको बताउनुभयो ।
महिलामा हुने पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपीभि) हो । जसबाट इन्फेक्सन भएर पछि क्यान्सर हुने जानकारी राष्ट्रिय खोप सल्लाकार समिति सदस्य तथा बाल रोग विशेषज्ञ डा.कल्पना सुवेदीले दिनुभयो ।
किशोरीहरूलाई एचपीभी भाइरस विरुद्धको खोपले इन्फेक्सन हुन नदिई क्यान्सरबाट जोगाउने हुनाले खोप प्रभावकारी भएको डा. सुवेदीले बताउनुभयो ।
१० देखि १४ वर्षका किशोरीलाई यो खोप लगाउँदा ९५ देखि ९९ प्रतिशत प्रभावकारी हुने र पछि लगाउँदा प्रभावकारिता घट्दै जाने डा. सुवेदीले जानकारी दिनुभयो ।
डा.सुवेदीले भन्नुभयो ‘यौन जीवन सुरु हुन अघि किशोरीहरूलाई एचपीभी खोप लगाउनुपर्छ जसबाट क्यान्सरको जोखिम हुन दिँदैन ।’
सरकारले हाल पहिलो चरणमा चीनबाट २० हजार मात्रा खोप १४ वर्ष उमेर समूहका सातै प्रदेशका किशोरीलाई लगाउने लक्ष्य लिएको छ ।

२०६५ साल भाद्र ३० देखि ६६ साल भाद्र ३० सम्म जन्मेका किशोरीलाई प्रथम चरणमा खोप लगाइन्छ ।
यो खोप २ मात्रा लगाउनुपर्छ । पहिलो पटक लगाएको ६ महिनापछि दोस्रो खोप लगाउनुपर्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमले हाल १४ वर्षका किशोरीलाई खोप लगाएपनि आगामी कार्यक्रममा १० देखि १४ वर्षका लागि खोप अभियान सञ्चालन गरी राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्दै लैजाने सरकारको लक्ष्य रहेको बताउनुभयो ।
डा.गौतम भन्नुहुन्छ ‘खोप निःशुल्क पाइन्छ, यो सरकारको अभियान हो, खोप सुरक्षित छ, यसले जीवन रक्षा गर्छ ।’
किशोरीका लागि क्यान्सर विरुद्धको खोप लगाउन काठमाडौँ उपत्यकामा थापाथली स्थित प्रसूति गृह, कोशी प्रदेशमा कोशी अस्पताल विराटनगर, मधेस प्रदेशको नारायणी अस्पताल वीरगन्ज, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत, सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पताललाई तोकिएको छ ।
सरकारले खोप सुरक्षित भएकाले १४ वर्षका किशोरीका अभिभावकहरूलाई ढुक्क हुन आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्