तपाईँ सुन्दै हुनुहुन्छः

गणेशमान सिंह स्मृति वाटिकाको निर्माण कार्य अन्तिम चरणमा, राष्ट्रपतिबाट उद्घाटन गरिने

भक्तपुर । २४ वर्ष अघि सुवर्णेश्वर डाँडामा निर्माण थालिएको गणेशमान सिंह स्मृति वाटिकाको निर्माण कार्य विभिन्न आरोह अवरोहकाबीच अन्तिम चरणमा पुगेको छ । 

भक्तपुरको सुर्यविनायक नगरपालिकाको वडा नम्बर ५ र ६ को बीचमा रहेको यो वाटिकामा वि.सं.२०४६ सालको ऐतिहासिक जन–आन्दोलनका सर्वोच्च कमान्डर एवं नेपाली कांग्रेसका संस्थापक नेता लौहपुरुष गणेशमान सिंहको पूर्णकदको प्रतिमा पनि राखिसकिएको छ ।

१२ सय केजीको १२ फिट अग्लो ढलोटको प्रतिमा ठड्याइएको छ । सिंहको प्रतिमा कलाकार महेश तुलाधरले तयार गर्नुभएको हो।

आगामी असोज २ गते सिंहको २६ औँ स्मृति दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वाटिकाको औपचारिक उद्घाटन र  सिंहको प्रतिमा अनावरण  गर्ने कार्यक्रम तय भएको गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका अध्यक्ष माथवरसिंह बस्नेतले जानकारी दिनुभयो।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सोही स्थानमा गणेशमान सिंहको पूर्ण कदको सालिक र वाटिका निर्माणको शिलान्यास गर्नुभएको थियो ।

२०५४ सालमा गणेशमानको निधन भएपछि तत्कालीन कटुञ्जे गाउँ विकास समिति अध्यक्ष रामेश्वर ढुङ्गेलले वाटिका निर्माण गर्ने घोषणा गर्नुभएको थियो । ढुङ्गेल पछि प्रतिनिधिसभा सदस्य समेत हुनुभयो ।

सरकारबाट कुल १७४ रोपनी १५ आना जग्गामा वाटिका निर्माण गर्ने स्वीकृति प्राप्त भएपछि त्यसको गुरुयोजना बनाएर सोहीअनुसार धमाधम काम भइरहेको हो ।

समितिले आर्थिक स्रोत जुटाउन नसकेपछि अध्यक्ष ढुङ्गेलकै पालामा  २०७१ साल असारमा साख समूहका प्रभातप्रकाश साखसँगको साझेदारीमा वाटिका बनाउने सम्झौता गरेको थियो । साखले सम्झौताअनुसार भक्तपुरकै मेथड कन्सल्ट्यान्टमार्फत करिब रु १२ करोड लागत लाग्ने गरी वाटिकाको गुरुयोजना निर्माण गर्नुभएको थियो ।

समितिले साखसँग बढीमा पाँच वर्षभित्र निर्माण अवधि राखेर थप ३५ वर्षका लागि उक्त जग्गा भाडामा दिने सम्झौता गरेको थियो । साखले गुरुयोजनाअनुसार नै वाटिका निर्माण कार्य अघि बढाउनुभएको थियो  । तर उहाँको निधन हुँदा र व्यापारीकरण भएको बताउँदै केही स्थानीयको विरोधका बाबजुद प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमान्डर सिंहको जीवनीमा आधारित वाटिका निर्माण ठप्प हुन पुगेको थियो ।

साखको निधनसँगै काम रोकिएपछि समिति आफैँ वाटिका निर्माणमा लागिपरेको छ । साखसँगको सम्झौतामा सिंहको जन्म शताब्दीको अवसर पारेर २०७२ साल कात्तिक २४ गते सालिक अनावरण गर्ने लक्ष्य लिइएको थियो । वाटिका निर्माणपछि प्रवेश शुल्क, होटेल, भ्यु टावर सञ्चालनबापतको आम्दानीको २० प्रतिशत समितिलाई बुझाउने सम्झौता थियो ।

सरकारले साबिकको कटुन्जे गाविसको सिफारिसमा उक्त वाटिका स्थापना गर्न कित्ता नं. ४२१ को १४८ रोपनी ५ आना जग्गा दिएपछि समितिले ०५५ मा भवन निर्माण गरेको थियो ।जहाँ अहिले समितिको कार्यालय रहेको छ ।

। 

सिंहको योगदानलाई चिरस्मरणीय बनाउन वाटिकामा सिंहको प्रतिमाका साथै प्रजातान्त्रिक आन्दोलनका शहीदहरूको जीवनीमा आधारित सामग्रीहरू सङ्ग्रह गर्ने सङ्ग्रहालय, पुस्तकालय, योग पार्क, चिल्ड्रेन पार्क, भ्यु टावर ,पिकनिक स्पट, लगायतको निर्माण भइरहेको छ ।

समितिले वाटिकालाई सिंहले प्रजातान्त्रिक आन्दोलनमा गरेका सङ्घर्ष र त्यागका कथाका अतिरिक्त प्रजातान्त्रिक शहीदहरूको जीवनी र सङ्घर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने, गराउने थलोको रूपमा विकास गर्दै आएको समितिका सदस्य एवम् प्रचार समिति संयोजक कबिर राणाले बताउनुभयो ।

पछिल्लो समय निर्विवाद रुपमा निर्माण कार्य अगि बढिरहेको जनाउँदै हालसम्म बाटिका सहितको शालिक  लगायत भौतिक संरचना निर्माणमा सांसद विकास कोष, नगर विकास प्राधिकरण ,सडक डिभिजन कार्यालय लगायत मार्फत ४ करोड रुपैयाँ भन्दा बढी खर्च भैसकेको समितिले जनाएको छ । सबै संरचना निर्माणका लागि करिब ३३ करोड रुपियाँ खर्च हुने अनुमान समितिले गरेको छ ।

१९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button