तपाईँ सुन्दै हुनुहुन्छः

६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाउँदै

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी भएको ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । 

सिआइबीले आज पत्रकार सम्मेलन गरेर ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको जानकारी दिएको हो । 

सिआइबी प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले पक्राउ परेका ३२ जना प्रतिवादीसहित ३ अर्ब ५० करोड रुपैयाँ बिगो दाबीसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको जानकारी दिनुभयो । 

सिआइबी प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले सुन प्रकरणमा पूरक अनुसन्धान गरिने जानकारी दिँदै तस्करीमा संलग्नहरूलाई विभिन्न ७ कसूरमा मुद्दा चलाउन मिल्ने प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिनुभयो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलोबाहेक रेडीलिंक कम्पनीको नाममा ३ सय ६२ किलो सुन तस्करी भएको पनि प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ । 

प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाइएको छ । प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन् । 

यस्तै प्रहरीको फरार सूचीमा रहेका १८ जना रहेको र तीमध्ये १४ जना विदेशी र ४ जना नेपाली नागरिक छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button