सकियो ऐतिहासिक राष्ट्रिय नाथ सम्मेलन

पोखरा । मानव जगतको कल्याणका लागि धार्मिक भावना जगाउने उद्देश्यका साथ नेपालभरिका विभिन्न मठ, मन्दिर तथा आश्रममा रहेका पिठाधिस तथा धार्मिक गुरुहरूलाई एकै ठाउँमा जम्मा गरि प्रथम ऐतिहासिक राष्ट्रिय नाथ सम्मेलन मंगलवार सकिएको छ ।
यही भदौ २५ गतेबाट पोखरा ३१ को शिव गोरक्षनाथ पीठ शिद्धाश्रममा नेपाल भरिका करिब एक सय ८३ मठ मन्दिर तथा पीठहरूका सन्तमाहात्माहरुको उपस्थितिमा सुरु भएको सम्मेलनले योगी बलभद्रनाथ महाराजको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
योगी नरहरिनाथको परिकल्पनामा अनुरुप धार्मिक भावना जगाउने अभियान अन्तरगत सञ्चालन भएको सो भेलाले उपाध्यक्षमा योगी बृहस्पति नाथ महाराज, योगी गोविन्द नाथ महाराज, महासचिवमा योगी दया नाथ महाराज,सचिवमा योगी वसन्तनाथ महाराज र कोषाध्यक्षमा योगी विष्णुनाथ महाराजलाई चयन गरेको हो ।
यसैगरि समितिको सदस्यहरूमा योगी राजेन्द्रनाथ महाराज, योगी षडानन्दनाथ महाराज, योगी देवीनाथ महाराज, योगी ओमकारनाथ महाराज, योगी गणेशनाथ महाराज, योगी जगन्नाथ महाराज, योगी दिलीपनाथ महाराज, योगी रोमनाथ महाराज र योगी होमनाथ महाराजलाई चयन गरेको छ भने संस्थाको प्रमुख संरक्षकमा योगी श्रीषनाथ जी महाराजलाई चयन गरेको हो ।
यसैबबीच सम्मेलन पूर्व भदौ २५ गते बेगनासतालको मन्दरेपार्कबाट जलकलश सहितको शोभा यात्रा निकालिएको थियो । वि स २०४१ सालमा योगी नरहरीनाथले महायज्ञ लगाएको ठाउँ पोखरा ३१ के पचभैया स्थित शिव गोरक्षनाथ पीठ शिद्धाश्रममा भएको भेलामा डा. जगमान गुरुङले कार्यपत्र प्रस्तुत गर्दै परापुर्वक देखि चल्दै आएको रीतिरिवाजलाई जोगाई राख्नु हामी सबैको कर्तव्य भएको बताएका थिए ।
यसैगरी राष्ट्रिय सम्मेलनमा विश्व हिन्दु महासङ्घ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष अस्मिता भण्डारीले नाथ सम्मेलनको उद्देश्य, धर्म जागरणका लागि नेपालमा मठ मन्दिरको संरक्षण अनिवार्य भएको विचार राख्नुभएको थियो ।
शिव गोरक्षनाथ पीठ शिद्धाश्रमका संरक्षक योगी बलभद्रनाथ महाराजको अध्यक्षतामा भएको कार्यक्रममा सम्मेलनका सदस्य सचिव डा। दयानाथ जी महाराज, योगी छत्रनाथ महाराज,बागेश्वरी पिठका प्रतिनिधि सोमनाथ पोख्रेल, शिव गोरक्षनाथ पीठ शिद्धाश्रमका अध्यक्ष भरतप्रसाद तिवारी,उपाध्यक्ष कृष्ण प्रसाद ढुङ्गाना र प्रचार प्रसार उप समितिका संयोजक राममणि अधिकारी लगायतले धर्मको रक्षाका लागि नेपाल अधिराज्य भरि अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्