‘बिपीले लिनुभएको परराष्ट्र नीति आज पनि उत्तिकै उपयोगी’
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले बताउनुभएको छ ।
काँग्रेसले बिपीको ११० औँ जन्मदिनको अवसरमा आइतबारदेखि सानेपामा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’ को दोस्रो दिन ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’ विषयमा छलफल भएको थियो । सो विषयमा मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बिपीले लिनुभएको परराष्ट्र नीति सन्तुलित भएकाले आज पनि उत्तिकै उपयोगी भएको बताउनुभयो ।
उहाँले बिपी अग्रगामी, लोकतान्त्रिक र समाजवादी चरित्रको हुनुहुन्थ्यो भन्दै भारतमा आफ्नै मित्र इन्दिरा गान्धीले सङ्कटकाल लगाएको, सिक्किम भारतमा विलय भएको आदि कारणले राजासँग मेलमिलापको नीति लिएर बिपी नेपाल आउनुभएको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले बिपीको राष्ट्रियताको विषयमा राजासँग मिलेर जान खोज्ने मेलमिलापको नीति सही भए पनि राजाले विश्वासघात गरेको उल्लेख गर्नुभयो । उहाँले बिपीले अँगालेको सो नीति सफल नभए पनि सही भएको बताउनुभयो । उहाँले नेपालमा दलहरूबीच पदका लागि बाहेक सहमति नजुट्नु दुर्भाग्य भएको बताउनुभयो ।
कार्यक्रममा कांग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री डा नारायण खड्काले बिपीको व्यक्तित्व अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च र सम्मानित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजा महेन्द्रले बिपीलाई अपदस्थ गरेपछि संयुक्त राष्ट्रसङ्घको महासभामा जाँदा संयुक्त राज्य अमेरिकामा ९३ जना नोबेल पुरस्कार विजेताले विरोध गरेको घटना ऐतिहासिक थियो ।”
उहाँले चीनका राष्ट्रपति माओत्से तुङसँगको वार्ता, चीनका प्रधानमन्त्रीसँग सगरमाथा नेपालको हो भनेर दाबी पेश गर्ने बिपीले मुस्ताङमा नेपाली नागरिक मारिँदा माफी मगाई क्षतिपूर्ति गराएको घटना कूटनीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान भएको उल्लेख गर्नुभयो ।
नेकपा (एमाले)का उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सम्बन्ध राख्दा भारत विरोधी र भारतसँग सम्बन्धलाई निरन्तरता दिँदा चीन विरोधी हुनुपर्दैन भनेर बिपीले लिनुभएको अडान परराष्ट्र मामिलामा उल्लेखनीय भएको बताउनुभयो ।
कूटनीतिक क्षेत्रकी जानकार इन्द्र अधिकारीले बिपीले संयुक्त राष्ट्रसङ्घको १५ औँ साधारण सभामा दिनुभएको अभिव्यक्तिले बिपीलाई विश्व जगत्मा चिनाएको बताउनुभयो ।
बिपीले प्रधानमन्त्री भएपछि चीनको भ्रमणको तयारी हुँदै गर्दा भारतीय प्रधानमन्त्री तथा मित्र जवाहरलाल नेहरूले चीनसँग वार्ता गर्ने विषयमा सुझाव दिँदा अस्वीकार गर्नुभएको उहाँले बताउनुभयो । कूटनीतिज्ञ अधिकारीले नेहरूको दबाबलाई अस्वीकार गर्दै नेपाल सार्वभौम र स्वतन्त्र देशको हैसियतमा आफ्नो कूटनीति र सम्बन्ध छिमेकीसँग राख्न सक्छ भन्ने जवाफले आफ्नो हैसियत देखाएको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण सुधीर शर्माले गर्नुभएको थियो भने संयोजन पार्टी केन्द्रीय सदस्य नानु बाँस्तोला तथा श्रीबाबु कार्की र अमृत ज्ञवालीले गर्नुभएको थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्