तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा मार्सीफाँट मासेर धमाधम घर निर्माण 

जुम्ला । बढ्दो जनसङ्ख्याका कारण पछिल्लो समय अव्यवस्थित घर निर्माणले जुम्लाको खेतीयोग्य जमिन मासिँदै गएको छ । धान, जौ, गहुँ र तरकारी फल्ने खेतीयोग्य जमिनमा पछिल्लो समय तीव्र गतिमा घरहरू निर्माण हुँदै गएपछि  खेतीयोग्य जमिन मासिँदै गएको हो । 

जुम्लाका आठै स्थानीयतहका सबै क्षेत्रको खेतीयोग्य जमिनमा कंक्रिट संरचना ठडिएका छन् । जसले गर्दा उत्पादनसँगै क्रमिक रुपमा खेतीयोग्य जमिन घट्दै गएको छ । जुम्ला सदरमुकामको पूर्व राजसिमदेखि पश्चिम कारागारसम्मका धान, जौ, गहुँ फल्ने मार्सी फाँटमा सङ्घीयता कार्यान्वयनपछि ह्वात्तै कंक्रिट संरचना निर्माण बढेका छन् । 

चन्दननाथ नगरपालिकाको वडा नं. ५ र ६ को मार्सीफाँट कंक्रिट संरचनाले भरिएको छ । ५र ६ वर्षको अवधिमा सयौँको सङ्ख्यामा घरहरू निर्माण भएका छन् । यद्यपि,चन्दननाथ नगरपालिकाले विगत ५ वर्षपहिले नै खेतीयोग्य जमिनमा कंक्रिट संरचनाले भरिन थालेपछि घर निर्माण तथा खरिद बिक्री गर्न नपाइने मापदण्ड बनाएको थियो । 

उत्पादनमा वृद्धि, खेतीयोग्य जमिनको संरक्षणका लागि नगरपालिकाले मापदण्ड बनाए पनि कार्यान्वयन हुन नसक्दा मनपरी मापदण्डविपरित जग्गाको खरिद बिक्री रोकिएको छैन । चन्दननाथ नगरपालिका क्षेत्रको राजसिम ज्यूलो, छिना ज्यूलो, छिना साघु ज्यालोका खेतीयोग्य जमिनको खरिद बिक्री बढेको छ । जसले गर्दा धमाधम घर निर्माण भइरहेका छन् । यही रफ्तारमा कंक्रिट संरचना निर्माण हुँदै खण्डको केही वर्षमै जुम्ला सदरमुकाममा फाँर्सिफाँट नदेखिने सम्भावना छ ।

जुम्लाका वरिष्ठ किसान रामकृष्ण बुढ्थापा भन्छन्,“उत्पादनसँग कुनै वास्ता नगरी घर निर्माण हुन थालेपछि आगामी केही वर्षभित्रै जुम्लाका खेतीयोग्य जमिनमा घरले ढाकेको देख्न सकिन्छ ।  जग्गाको खरिद बिक्री रोक्न नगरपालिका संवेदनशील देखिदैन् । यसले गर्दा मार्सीफाँट मात्र नमासिएर उत्पादनै लोप हुने अवस्था छ ।”

चन्दननाथ नगरपालिकाले जग्गाको खरिद बिक्रीलाई व्यवस्थित बनाउन गम्भीरता नदेखाउँदा यसको असर भविष्यमा भोग्नु पर्ने स्पष्ट छ । चन्दननाथ नगरपालिकाले मात्र नभई जुम्लाका आठै पालिकाले खेतीयोग्य जमिन बचाउने र घरजग्गा खरिद बिक्री व्यवस्थित गर्ने नीति ल्याउन जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले सुझाव दिनु भएको छ । 

चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले नगरपालिका क्षेत्रको खेतीयोग्य जमिन संरक्षण गर्न गुरुयोजना नै बनाउन थालेको बताउनुभयो ।  उहाँले भन्नुभयो,“नगरका १० वटै वडाबाट खेतीयोग्य जमिनको लगत सङ्कलन हुँदै छ । अत्यधिक मार्सिफाँट मासिएको वडा नं.५ र ६ ले खेतीयोग्य जमिनमा घर लगाउनै नमिल्ने निर्णय गरिसकेका छन् । त्यसको कार्यान्वयनलाई नगरपालिकाले जोड दिन्छ ।”

नगरपालिका क्षेत्रमा विगतदेखि खेतीयोग्य जमिनमा बढ्दै गएको कंक्रिट संरचना निर्माणलाई रोक्न गुरु योजना सहित अघि बढेको मेयर कठायतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button