तपाईँ सुन्दै हुनुहुन्छः

बिपीको नीति अनुसार मुलुकको राजनीति अघि बढिरहेको छ : मन्त्री रिजाल

वीरगञ्ज । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बिपीले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति र मर्म अनुसार मुलुकको राजनीति अघि बढिरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा आज वीरगन्जमा नेपाली कांग्रेस पर्साद्वारा आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका मन्त्री रिजालले विपी कांग्रेसको मात्रै नभई सिङ्गो राष्ट्रको सम्पत्ति भएको दाबी गर्नुभयो ।

उहाँले कांग्रेस र नेपाली राष्ट्रिय राजनीतिका लागि बिपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजमाथि दिएको विचार र नेपालको राष्ट्रियतामाथि मडारिएको खतरालाई ध्यान राखेर राष्ट्र जोड्न, राष्ट्रियतालाई बलियो बनाउन ०३३ सालमा राष्ट्रसामु राखेको राष्ट्रिय एकता र मेलमिलापको नीति इतिहासले बिर्सिन नसक्ने बताउनुभयो ।

मन्त्री रिजालले कांग्रेस देशको प्रमुख प्रजातान्त्रिक शक्ति मात्र होइन, प्रमुख राष्ट्रवादी शक्ति पनि हो भन्नुहुँदै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको सिद्धान्त आस्था र विचारधारा भएकोमा बताउनुभयो ।

नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, पूर्व ऊर्जा मन्त्री ओम प्रकाश शर्मा, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, श्याम पोखरेल, वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button