तपाईँ सुन्दै हुनुहुन्छः

२० बिघा क्षेत्रफलमा लगाइएको धान हात्तीको बथानले नष्ट गर्‍यो

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिरेको हात्तीको बथानले करिब २० बिघामा लगाइएको धानबाली नष्ट गरेको हो।

स्थानीय राजबहादुर तमोली वर्षभरि खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका बेला जङ्गली हात्तीको बथानले खाएर सखाप पारेपछि चिन्तित भएका छन्। एक बिघामा लगाएको धानबाली पूरै जङ्गली हात्तीले सखाप पारेको उनले बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट साँझ ७:०० बजे तिर हात्तीको बथान धानखेतमा छिर्ने गरेको स्थानीय जया धामीले बताए। उनका अनुसार पछिल्लो तीन दिनयता यसरी जङ्गली हात्ती गाउँ पस्न थालेका छन्।

‘धान पूरै खाएर अघाएपछि उज्यालो हुनु अघि मात्रै हात्तीको बथान फर्कने गरेका छन्’ धामीले भने, ‘खाएर र खुट्टाले कुल्चेर धानबालीमा पूरै क्षति पुगेको छ।’ हात्तीको बथान होहल्ला गरेर, टिन बजाएर, आगो बालेर र पटाका पड्काएर पनि नभाग्ने गरेको स्थानीय बताउँछन्।

‘खेतमा पसेको हात्तीको बथान भगाउन रातभरि खेतमै जाग्राम बस्दै आएका छौँ’ जङ्गी साउदले भने, ‘हात्तीको बथान कुनै पनि हालतमा भाग्दैन, पेट भरिएपछि आफैँ निकुञ्जतर्फ लाग्ने गरेका छन्’

वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार जङ्गली हात्तीले धानबालीमा क्षति पुर्‍याउन थालेपछि निकुञ्ज कार्यालयलाई नियन्त्रणका लागि आग्रह गरिएको बताए। हात्ती लगायतका जङ्गली जनावर नियन्त्रणका लागि धेरै पहिलादेखि नै विद्युतीय मेसवायर जडानको माग गर्दै आएको उनको भनाइ छ ।

यसैबीच आज सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र प्रदेशसभा सदस्य ओमविक्रम भाटले छुट्टाछुट्टै रूपमा धानबालीमा जङ्गली हात्तीले क्षति पुर्‍याएको स्थानको अवलोकन गरेका छन्। मन्त्री धामीसमक्ष स्थानीय बासिन्दाले हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था मिलाउन माग गरेका छन्।

मन्त्री धामीले मन्त्रालयबाट बजेट विनियोजन गरी मेसवायर जडान हुन नसकेका क्षेत्रमा तत्काल कार्य अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button