गोरखकाली रबर उद्योगमा तामाको तार चोरी गर्ने दुईजना पक्राउ

गोरखा । गोरखकाली रबर उद्योगमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्बर १३ मझुवा देउराली स्थित गोरखकाली रबर उद्योग प्रा।लि भित्र रहेको तामाका तारहरू चोरी गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले बताउनुभयो ।
पक्राउ पर्नेमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका–३ बस्ने २० वर्षका राजकुमार मगर र सोही ठाउँका ३३ वर्षका ज्ञानेन्द्र विश्वकर्मा रहेको उहाँले बताउनुभयो । ‘बिहीबार उद्योगको परिसर भित्रको स्टोरमा पसेर तामाका तारहरू चोरी गर्दै गरेको अवस्था उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक खड्काको भनाइ छ ।
उनीहरुलाई चोरी तामाको तार काटिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मझुवादेउरालीबाट खटिएको प्रहरीको टोलीले घटनास्थलबाटै नियन्त्रण लिएको हो । पक्राउ परेकाहरूको साथबाट तामाको तार र तार काट्न प्रयोग गरेको फलामको हतियार समेत बरामद भएको छ ।
उनीहरुलाई चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । पक्राउ परेको मगर र विश्वकर्मालाई जिल्ला अदालत गोरखाबाट अनुसन्धानका लागि म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग भित्र रहेका उद्योगका सामग्रीहरु हराउने क्रम बढेपछि प्रहरीले चोरी नियन्त्रणका लागि उद्योगमा निगरानी बढाउँदै आएको थियो ।







प्रतिक्रिया राख्नुहोस्