तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार क्षेत्रको पुनः संरचनाका लागि कानून निर्माणमा जोड : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार क्षेत्रको पुनः संरचनाका लागि कानून र नीति निर्माणमा जोड दिइएको बताउनुभएको छ ।

जनपत्रकार सङ्गठनका केन्द्रीय पदाधिकारीसँगको भेटमा उहाँले नीतिगत परिवर्तनविना परिवर्तनको अनुभूति नहुने भएकाले आफू पुराना कानूनको परिमार्जन र आवश्यक कानून निर्माणको गृहकार्यमा रहेको बताउनुभयो ।

सञ्चार, सूचना प्रविधि, चलचित्र सबै क्षेत्रमा पुराना कानून रहेको उल्लेख गर्दै उहाँले पुराना कानूनको समयानुकूल परिमार्जन र नयाँ कानून निर्माणमा ध्यान दिइएको बताउनुभयो ।

मन्त्रालयले विज्ञहरूको टोली नै बनाएर राय सुझावसहितको प्रतिवेदन प्राप्त गरिसकेको उल्लेख गर्दै उहाँले आम सञ्चार प्राधिकरण, मिडिया काउन्सिल र पत्रकारिता प्रशिक्षण प्रतिष्ठान विधेयकको मस्यौदामा छलफल भइरहेको जानकारी दिनुभयो ।

पुरानो कानूनले अनलाइन मिडियालाई नचिन्ने तर अहिले अनलाइन मिडियाको प्रभाव बढिरहेकाले अनलाइन पत्रकारिताको कानूनी आधार तयार पार्नेतिर मन्त्रालय लागिरहेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित गर्न ऐन नै आवश्यक देखिए पनि अहिलेका लागि यसबाट हुनसक्ने क्षति रोक्न सचेतना र स्वनियमनलाई जोड दिएर निर्देशिका तयार पारिएको र चाँडै मन्त्रिपरिषद्बाट पारित हुने उहाँले बताउनुभयो ।

साइबर स्पेसको सुरक्षित प्रयोगका लागि नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति, २०८० जारी गरिएको जानकारी दिँदै अब साइबर सुरक्षा ऐन र साइबर सुरक्षा केन्द्र निर्माणका लागि बाटो खुलेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

मिडियाको सबलीकरण र पत्रकारको पेशागत तथा भौतिक सुरक्षामा सरकार गम्भीर रहेको उल्लेख गर्दै उहाँले न्यूनतम पारिश्रमिक निर्धारण समितिले बुझाएको प्रतिवेदनको आवश्यक अध्ययन गरी अघि बढाइने बताउनुभयो ।

सो क्रममा जनपत्रकार सङ्गठनका अध्यक्ष शेरबहादुर विकले मन्त्री शर्मालाई ज्ञापनपत्र बुझाउँदै साना तथा स्वरोजगारमूलक मिडियालाई जोगाउन, पत्रकारको पेशागत तथा भौतिक सुरक्षा गर्न, न्यूनतम पारिश्रमिक लागु गर्न तथा पत्रकारका लागि क्षमता वृद्धिका कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button