विभिन्न कार्यक्रम सहित धनुषामा निजामती सेवा दिवस

जनकपुरधाम । “व्यावसायिक र सिर्जनशील प्रशासन: विकास र सुशासन” मूल नारा सहित जनकपुरधाममा निजामती सेवा दिवस २०८० विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।
जानकी मन्दिरको प्राङ्गणबाट प्रहरी ब्यान्ड सहित निष्केको प्रभात फेरि जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न भागको परिक्रमा गर्दै जनकपुरधामको वडा नंं ४ विसहरा पोखरीको डिलमा अधिकृत संगम धनुषाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा कर्मचारीहरू सरिक हुनु भएको थियो ।
वृक्षारोपण कार्यक्रममा अधिकृत संगमका संरक्षक, निजामती सेवा दिवस मूल समारोह समितिका अध्यक्ष एवं धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे, अधिकृत संगमका अध्याय एवं धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी सहितका पदाधिकारी तथा कर्मचारीहरूले करिब ८० वटा विभिन्न जातको बिरुवाहरू रोप्ने काम भएको छ ।

आज लगाइएको वृक्षहरूको संरक्षण तथा हुर्काउने जिम्मेवारी डिभिजन वन कार्यालय धनुषाको जिम्मा लगाउने काम भएको अधिकृत संगमका कोषाध्यक्ष एवं वनस्पति अधिकृत वैज्ञानिक ताहिर हुसेनले जानकारी दिनु भयो ।
वृक्षारोपण पछि प्रहरी ब्यान्ड सहितको कर्मचारीहरूको प्रभातफेरि जिल्ला प्रशासन कार्यालय धनुषामा पुगेर सभामा परिणत भएका थिए । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सो कार्यक्रममा बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले नेपाल सरकारले निजामती कर्मचारीलाई उपहारको रुपमा हिजोको मन्त्रीपरिषद् बैठकले नयाँ संघीय निजामती ऐन पारित गरेर प्रतिनिधि सभामा पठाउन लागेको बताउनु भयो ।
उहाँले निजामती ऐनको अभावमा समस्यामा भएका कर्मचारीहरूलाई ठूलो राहत मिल्ने भएको बताउँदै ऐनको अभावले कतिपय कर्मचारीको वृत्ति विकासमा समस्या भएको थियो ।
कार्यक्रममा विभिन्न निजामती कर्मचारी सङ्गठनका पदाधिकारीहरूले निजामती कर्मचारीहरूका लागि आउन थालेको ऐन कर्मचारी मैत्री हुने विश्वास व्यक्त गर्नु भयो ।
यसरी धारणा राख्नेहरूमा नेपाल निजामती कर्मचारी सङ्गठनका प्रदेश अध्यक्ष जीतनारायण भगत, नेपाल निजामती कर्मचारी युनियनका धनुषा जिल्ला अध्यक्ष धर्मराज पौडेल, राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष मुनेश्वर यादव र निजामती कर्मचारी युनियनका अध्यक्ष दिपक ठाकुरले रहनु भएको थियो ।
यस अघि निजामती सेवा दिवसको अवसरमा हिजो अधिकृत संगम धनुषाको आयोजनामा भएको रक्तदान कार्यक्रममा १०६ जनाले रक्तदान गरेका थिए । आज सबै कार्यालयहरूमा दीपावलीको आयोजना गरिने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्