मलेरियाको उच्च जोखिममा नरैनापुर

बाँके । भारतमा आउजाउ धेरै हुने भएकोले औलो (मलेरिया)को उच्च जोखिममा नरैनापुर पर्दछ । भारतमा मलेरिया लागेका व्यक्ति सिधै गाउँ छिर्ने भएकोले पनि मलेरियाको उच्च जोखिममा नरैनापुरलाई मानिएको हो । गत आर्थिक वर्षमा त्यहाँ एक सय दुई जनामा मलेरिया पुष्टि भएको थियो ।
चार हजार तीन सय ८४ जनाको मलेरिया जाँच गर्दा एक सय दुई जनामा मलेरिया पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताउनु भएको छ।
अघिल्लो आव ०७८/०७९ मा दुई हजार ६ सय ७५ जनाको औलो जाँच गर्दा ८९ र आव ०७७/०७८ मा एक हजार पाँच सय ५८ जनामा जाँच गर्दा ३५ जनामा औलो पुष्टि भएको थियो । औलोका कारण कसैको मृत्यु नभएको पनि स्वास्थ्य शाखाले जनाएको छ । क्षयरोग (टिबी) लागेका नरैनापुरका ५८ जना निको भएका छन् । गत आव ०७९/०८० मा ६१ जना क्षयरोगका बिरामी फेला परेकोमा ५९ जना निको भएका हुन् । एक जना बिरामी निको भएर पनि उपचारका लागि नआएको र एक जनाले बीचमै औषधि सेवन गर्न छाडेको साहले जानकारी दिनुभयो।
उहाँले गत आवमा १५८ दशमलव ५ प्रतिशत केस पत्ता लागेको बताउँदै निको हुने दर ९० दशमलव ६ प्रतिशत रहेको बताउनु भयो। उक्त आवमा चार जना क्षयरोगीको मृत्यु भएको थियो । आर्थिक वर्ष ०७७/७८ मा १३० दशमलव २ प्रतिशत केस फेला पर्दा र आव ०७८/०७९ मा १४६ प्रतिशत क्षयरोगका बिरामी फेला परेका थिए । भने, आव ०७७/०७८ मा ९३ दशमलव १ र आव ०७८/०७९ मा निको हुने दर ८९ दशमलव ५ रहेको साहले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्