तपाईँ सुन्दै हुनुहुन्छः

मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस जुम्लामा मनाइयो 

जुम्ला । मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस जुम्लामा पनि मनाइएको छ । मङ्गलवार र्‍याली सहित अन्तरक्रिया गरी दिवस मनाइएको हो । जुम्लामा हालसम्म २ वटा मात्रै मानव बेचबिखनका मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष २०७४/७५ मा १ वटा र आव ०७७/७८ मा १ वटा गरी दुईवटा मात्रै मुद्दा दर्ता भएको हो । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार दुई वटा मुद्दा मध्य एक उजुरी फर्छ्यौट भइसकेको छ । भने एक अनुसन्धानकै क्रममा रहेको छ  । 

प्रहरी निरीक्षक याम बहादुर बुढामगरले आव २०७४/७५ मा २१ जना जुम्लाका बालबालिका बेच्ने उद्देश्यले जिल्ला बाहिर लगिएको विषयमा उजुरी परेको बताउनुभयो । उक्त मुद्दा किनारा लागिसकेको छ । 

०७७/७८ मा दर्ता भएको मुद्दा अहिले पनि अनुसन्धानकै क्रममा रहेको छ । मुलुकमा मानव बेचबिखनको समस्या विकराल बन्दै गरेको अवस्थामा  जुम्लामा उजुरीका रुपमा २ वटा मात्रै आउनुले समस्या अझै बाहिर नआएको नागरिक अगुवा राज बहादुर महतले बताउनुभयो ।

घरेलु तथा लैगिक हिंसा,कमजोर आर्थिक अवस्था, शिक्षाको कमी, बेरोजगारी, असुरक्षित बसाइसराई, सामाजिक सञ्जालको दुरुपयोग, द्वन्द्व तथा राजनीतिक अस्थिरता, राम्रो र खुसी जीवनको चाहना लगायतका कारणले मानव बेचबिखनको समस्या बढ्दै गएको डिएसपी प्रल्हाद कार्कीले बताउनुभयो । 

यौन शोषण, अङ्ग प्रत्यारोपण, श्रम शोषण, सर्कसमा खेलाउन, अवैध रुपमा धर्मपुत्र, पुत्री बनाउन, घरेलु कामदार बनाउन, बालश्रम गराउन लगायतका क्षेत्रमा दुरुपयोग गर्ने उद्देश्यले मानव बेचबिखन हुने गरेको छ । 

मानव बेचबिखन जस्तो संवेदनशील विषयमा स्थानीय सरकार तथा गैरसरकारी संस्थाहरू गम्भीर नदेखिएको उहाँको भनाई छ ।  पछिल्लो समय मानव बेचबिखन विकराल बन्दै गएको छ । वैदेशिक रोजगारीका नाममा,सेवा प्रवाह तथा लगायतका नाममा मानव बेचबिखन भइरहेको छ ।

साथै गरिबीले पनि  मानव बेचबिखन तथा ओसारपसारको समस्या बढ्दै गएको छ । शिक्षा चेतनाको अभावले दुरदराजमा धेरै बच्चा जन्माउने, ठुलाबडाका घरमा पढ्न लेख्न भनेर पढाउने र अन्तमा विक्री हुने र यौन शोषणमा पर्ने समस्या छ । 

आफ्नै उत्पादनले ४/५ महिना नपुग्ने समस्या छ । जसका कारण विपन्न परिवारका बालबालिका होटलमा, ठुलाबडाका घरमा काम गर्न पठाउनु पर्ने बाध्यता छ ।  साथै मानव बेचबिखन सवालमा राजनीतिक दलहरू समेत गैर जिम्मेवार बनेका छन् । 

जुम्लामा बुधबार मानव बेचबिखन विरुद्धको १७ ओैँ राष्ट्रिय दिवसको अवसरमा र्‍यालीपछि  आयोजित अन्तरक्रियामा सहभागी सरोकारवालाले गरिबी, अशिक्षा, सरोकारवालाको गैरजिम्मेवारीपन, अभिभावकको लापरबाहीले मानव बेचबिखनका समस्या बढेको बताएका छन् ।

मानव बेचबिखन रोक्न अभिभावक सचेतना देखी सामाजिक सञ्जालको सदुपयोग, जनचेतना अभिवृद्धि लगायतका विषयमा ध्यान दिन जोड दिएका छन् । जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले मानव बेचबिखनलाई रोक्न घरबाटै सचेतनाको कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनुभयो । स्थानीय सरकार गैससले यस्ता विषयमा  संवेदनशील भएर लाग्न जरुरी रहेको उनको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले  मानव बेचबिखन समस्या वर्तमान समयको मुख्य चुनौती भएको बताउनुभयो । बेचबिखनको जोखिममा सबैभन्दा बढी महिला र बालबालिका रहेका छन् । आर्थिक, सामाजिक अवस्था कमजोर, चेतनास्तर सबै कमजोर हुँदा पनि बेचबिखन बढेको उनको भनाई छ। साँझा प्रयास एकताले मात्रै यी समस्या उन्मुलन गर्न सम्भव रहेकोमा जोड दिए ।

सशस्त्र प्रहरी बलका एसपी चेतराज जोशीले भौतिक र चेतनाको विकास बढेसँगै उतिकै रुपमा यौन हिंसा,मानव बेचबिखनका समस्या बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“नागरिक सचेत भएको खण्डमा यस्ता समस्या न्युनिकरण हुन्छन् । सुरक्षा निकाय एक्लैले गरेर सम्भव छैन । आफ्नो अधिकारको पालना गर्दा कर्तव्य पनि बिर्सनु हुँदैन ।”

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण), ऐन २०६४ ले कुनै पनि बहानामा मान्छेको ओसारपसार गर्ने,अङ्ग विक्री गर्ने लगायतका कसुरदार तथा अन्य संलग्न व्यक्तिलाई २० वर्ष सम्म कैद सजाय तथा कारबाही हुने व्यवस्था छ । भने मानव बेचबिखनको मुद्दाको हद म्याद असीमित हुने ऐनमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button