झापामा १० लाखको ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

भद्रपुर, झापा । झापामा प्रहरीले एकै पटक करिब १० लाखको मूल्य बराबरको लागुऔषध ब्राउन सुगरसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको सदरमुकाम भद्रपुरबाट मङ्गलवार एकै पटक १९७ ग्राम ८०० मिलिग्राम ब्राउन सुगरसहित भारतीय नागरिकहरू भारत पश्चिम बङ्गाल राज्य दार्जिलिङ जिल्ला नक्सलबारी निवासी २८ वर्षीया कल्याणी बर्मन, २८ वर्षीया राधा सिंह र २४ वर्षीय कल्याण वर्मन पक्राउ परेका हुन् ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ, जिल्ला प्रहरी कार्यालय झापाको इन्टेलिजेन्स टोली र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले उनीहरूलाई भद्रपुर ८ स्थित चन्द्रगढी विमानस्थल अगाडिबाट ब्राउन सुगरसहित पक्राउ जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।
भद्रपुरबाट पक्राउ परेका महिलाहरू कल्याणी र राधालाई प्रहरीले सोधपुछ गर्दा सो ब्राउन सुगर कल्याणले काँकडभिट्टाबाट पठाएको बताएका थिए । त्यसपछि प्रहरीले कल्याण बसेको ठाउँ पत्ता लगाएर उनलाई पनि पक्राउ गरेको डिएसपी रिजालले बताउनु भयो । पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको छ । बरामद गरिएको ब्राउन सुगर अहिलेसम्मकै सबैभन्दा धेरै परिमाणको रहेको डिएसपी रिजालले बताउनु भयो ।
झापामा ब्राउन सुगर प्रतिग्राम ५ हजारको दरले बिक्री हुने गरेको प्रहरीको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्