तपतपे ढुङ्गा व्यवस्थापनको लागि नेपाली सेना सक्रिय

दोलखा। दोलखाको उत्तरी सिंगटीको खोलिखिम बजार माथि माईथान सामुदायिक बन क्षेत्रमा रहेको जोखिम तपतपे ढुङ्गा व्यवस्थापनको लागि नेपाली सेनाले काम सुरु गरेको छ ।
वर्षाको कारण क्रमशः बग्दै गएको उक्त ढुङ्गा खस्यो भने खोलिखिम बजारको ७८ भन्दा बढी घर धुरीमा क्षति पुग्न सक्ने नेपाली सेनाले तयार गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
नेपाली सेनाको तारादल गणको सेनानी गजेन्द्र दहितको समन्वयमा काली सिद्धि गणका इन्जिनियर सेनानी प्रभात सिंह, सह सेनानी सुजिन जंग शाही, जमदार राम कुमार राई र सिपाही खुम बहादुर डाँगी तथा अर्जुन घिमिरेको प्राविधिक टिमले गरेको रेकीमा उक्त ढुङ्गा भएको ठाउँमा पहिरो गयो भने तीन सय ५० मिटर तल सिंगटी बजारमा रहेको करिब २० घरमा क्षति हुने तथा ढुङ्गाले नदी थुन्यो भने बजारको ७८ वटा घरमा क्षति पुग्न सक्ने रिपोट दिएको विगु गाउँपालिकाका प्रमुख सञ्जीव ओलीले बताउनु भएको थियो । ढुङ्गा खस्ने त्रास बढेपछि विगु गाउँपालिकाको पहलमा खोलिखिमका ३२ घर धुरीका बासिन्दालाई अन्यत्र सारिएको थियो ।
विगतमा पिउन मिल्ने गरी नै पानी रसाउने भएकोले स्थानीयले तपतपे ढुङ्गा भनी नामाकरण गरेको उक्त ढुङ्गामा गतबर्षबाटै हलचल सुरु भएकोमा भदौ ९ गते राति बाट भने आसपासको माटो बगेर १५ मिटर सरेको थियो ।
तपतपे ढुङ्गाको जोखिमकै कारण त्यसको व्यवस्थापनको लागि काली सिद्धि गणका इन्जिनियर सेनानी प्रभात सिंहको कमाण्डमा तारा दल गणको अप्रेसन अधिकृत समेत सहभागी रहने गरी टोली बनाइएको थियो । टोलीले प्रधानसेनापतिको अनुमति पछि सोमवारबाट उक्त ढुङ्गालाई ब्लास्टिङ गरी आवश्यक व्यवस्थापन गर्ने काम सुरु गरेको तारादल गण चरिकोटले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले ढुङ्गा व्यवस्थापनको लागि नेपाली सेनाको टोलिले ब्लास्टिङको काम गरिरहेको र त्यो अत्यन्त सुरक्षित ढङ्गले भई रहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी धमलाले ढुङ्गा व्यवस्थापनको काम चाँडै सकिने भएकोले सिंगटीको वस्तिमा अब उक्त ढुङ्गाको जोखिम नरहने समेत बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्