तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र र जनताको पक्षमा इमानदारिताका साथ काम गर्छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान सुरुआत गरेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)ले आजदेखि सुरु गरेको रूपान्तरण विशेष अभियानअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले हैरानी व्यहोर्नु नपरोस् भनेर सेवा प्रवाहमा सुधार थालिएको बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक तथा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सामाजिक सुरक्षा योजना सञ्चालन गरिएको बताउनुभयो ।

नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करीको सेटिङ भत्काउने, मिटर ब्याजबाट पीडित किसानलाई मुक्त गर्ने अभियानको थालनी भएको छ । “वर्तमान गठबन्धन सरकारसँग एकाथरि मान्छे अत्तालिएका छन्, यो अभियानले फेरि माओवादी २०६४ सालमा फर्कने भयो, शक्तिशाली पार्टी हुने भयो भन्ने आशङ्का छ”, उहाँले भन्नुभयो, “माओवादीलाई देश र जनताको पक्षमा काम गर्न नदिन ठूलो षड्यन्त्र भइरहेको छ, देश र राज्यलाई शुद्धीकरण गर्ने, बेथिति र फोहरलाई सफा गर्ने अभियान रोकिँदैन ।”

उहाँले आफूले सरकारको नेतृत्व गरिन्जेलसम्म देश र जनताको पक्षमा काम गरिरहने दृढता व्यक्त गर्नुभयो । “म जति दिन प्रधानमन्त्री रहन्छु राष्ट्र र जनताको पक्षमा इमानदारिताका साथ काम गर्छु”, उहाँले भन्नुभयो ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कमीकमजोरी औँल्याउँदै जनताका बीचमा आएको उल्लेख गर्दै अब माओवादीले नै आफूलाई रूपान्तरण गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button