तपाईँ सुन्दै हुनुहुन्छः

जनताको अवस्था नबदली सहिदका सपना पूरा हुँदैन : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ सहिदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रले आजदेखि सुरु गरेको तीन महिने विशेष रूपान्तरण अभियान उद्घाटनका अवसरमा दाङको घोराही १७ बर्गदीस्थित सहिद स्मृति पार्कमा आयोजित कार्यक्रममा उहाँले अब सहिद सपना पूरा गर्ने गरी पार्टी र सरकार अघि बढ्ने बताउनुभयो ।

सहिदको बलिदानका कारण राजनीतिक व्यवस्था बदलिएको उल्लेख गर्दै उहाँले अब सहिदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्ने बताउनुभयो ।

इतिहासमा पहिलोपटक सरकार जनतासित जोडिएको उल्लेख गर्दै उहाँले सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा अघि बढिरहेको बताउनुभयो । वर्तमान सरकार गठन भएदेखि निरन्तर जनताको सेवा, सुविधा र सुशासनलाई प्राथमिकता राखिएको मन्त्री शर्माले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री शर्माले पार्टी जनतामा फर्कने अभियान सुरु भएको बताउनुभयो । शान्ति प्रक्रियापछि पार्टी पटक पटक सरकारमा गए पनि जनताले चाहेजस्तो परिवर्तनको अनुभूति गर्न नपाएको उल्लेख गर्दै उहाँले अहिलेको सरकार गठन भएपछि जनताको पक्षमा काम हुन थालेकाले त्यसलाई जनताको बिचमा लैजान र जनताको गुनासो सरकारसमक्ष पुर्‍याउन यो अभियान सुरु गरिएको बताउनुभयो ।


सबै नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आग्रह गर्दै उहाँले राजनीतिलाई सेवाको रुपमा लिनुपर्ने बताउनुभयो । राजनीतिलाई व्यक्तिगत लाभमा प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उहाँले अनियमितता र भ्रष्टाचार गर्नेहरू आफ्नै भए पनि नछाड्ने सरकारको प्रतिबद्धता रहेको बताउनुभयो ।

यो ठाउँमा २०५८ मङ्सिर १३ गते धान दाइरहेका किसानमाथि तत्कालीन सेनाले गोली चलाउँदा ११ जनाको ज्यान गएको थियो । सहिदको शालिकमा माल्यार्पण गरी मन्त्री शर्माले अभियान उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button