तपाईँ सुन्दै हुनुहुन्छः

गिद्ध संरक्षणमा अभियानमा चितवनका युवा 

चितवन । चितवनका युवा गिद्ध संरक्षण अभियानमा लागेका छन् । यसका लागि  चितवनमा गिद्ध संरक्षण सप्ताह शुक्रबार देखि शुरु भएको छ । लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षणमा जनसहभागिता अभिवृद्धि गर्ने उद्देश्यले गिद्ध संरक्षणलाई सप्ताहको रुपमा मनाउन लागिएको  हो ।

चितवनको पर्यटकीय नगरी सौराहामा आयोजित एक औपचारिक कार्यक्रमका बीच शुक्रबार बिहान चितवन निकुञ्ज सौराहा सेक्टरका प्रमुख शान्तबहादुर मगरले सप्ताहको उद्घाटन गर्नुभयो  । 

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान बछौलीको आयोजना तथा वर्ड एजुकेशन सोसाइटी, नेचर गाइड एशोसियसन र सौराहा लेडी जेसीजको सह आयोजनामा सो अभियान शुरु गरिएको छ । 

कार्यक्रममा सप्ताहको उद्घाटनसँगै गिद्ध संरक्षणको लागि सौराहा र राप्ती किनारमा सरसफाई समेत गरिएको छ । संरक्षणकर्मी, नेपाल प्रहरी, नेपाली सेना तथा संरक्षण तथा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिहरूले सौराहाको राप्ती ड्याक वरिपरि सरसफाई गरेको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानकी सहसचिव दिना पोखरेलले जानकारी दिनुभयो  ।

औपचारिक कार्यक्रममा वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष टीका गिरीले नेपालमा गिद्ध सङ्कटापन्न अवस्थामा रहेको भन्दै चितवनमा यसको प्रजनन् क्षमता बढाउन कार्यक्रम शुरु गर्नु परेको बताउनु भयो । ‘जाडो महिनामा अन्तबाट गिद्ध चितवन आउँछन् उहाँले भन्नुभयो, तर चितवनमा गिद्ध नै छैन । निकुञ्जको सौराहा सेक्टर प्रमुख मगरले गिद्धको सङ्ख्यालाई पुरानै अवस्थामा फर्काउन मुश्किल रहेपनि जोगाउने तर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो  ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिकी सदस्य सरस्वती लामाले वातावरण संरक्षण र पर्यावरणको सन्तुलन राख्न पनि संरक्षणमा एकजुट हुनुपर्ने धारणा राख्नुभयो  । समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान बछौलीका अध्यक्ष बसन्त रानाले गिद्ध अन्य वन्यजन्तु र चराचुरुङ्गी सरह नै महत्वपूर्ण पन्छी रहेकाले सरकारले यसको संरक्षणमा गम्भीर हुन जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह, नेपाली सेनाका गुल्मपति हरि तिवारी, वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, नेचर गाइड एशोसियसनका अध्यक्ष अनिल कुमार गुरुङ, बाघमारा वनका अध्यक्ष जितु तामाङ, चित्रसेन वनकी सचिव रिता थापा लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button