सगरमाथाबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक सम्मानित
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ ।
बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभल कम्पनीले एक कार्यक्रमको आयोजना गरी चिनियाँ नागरिक सानटाओलाई सम्मान गरेका हुन् । सानटाओले गत मे १८ मा सगरमाथाको आठ हजार मिटर उचाइबाट बेस क्याम्पसम्म प्याराग्लाइडिङ गर्नुभएको थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा हिमालको शिरबाट प्याराग्लाइडिङ गरिनु पर्यटन क्षेत्रका लागि नयाँ अनुभव र सम्भावना भएको बताउनुभयो ।
प्याराग्लाइडिङ आरोही सानटाओले सन् २०१५ मा पोखरामा पहिलोपटक प्याराग्लाइडिङ गरेको स्मरण गर्दै सोही समयदेखि नै सगरमाथामा प्याराग्लाइडिङ गर्ने सपना बुनेको बताउनुभयो ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटनका माध्यमबाट मुलुकको विकासमा टेवा पुग्नै भन्दै पर्यटन प्रवर्द्धनमा सबैको ऐक्यबद्धताको खाँचो औँल्याउनुभयो ।
सेभेन समिट ट्रेक्स प्रालिका सञ्चालक एवं पर्यटन व्यवसायी मिङ्मा शेर्पाले नेपालका हिमाल प्याराग्लाइडिङ गर्ने खालका रहेकाले यसलाई सरकारले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । कोरोनापछि नेपालको पर्यटन क्षेत्र बिस्तारै गतिमा जान थालेको उहाँको भनाइ थियो ।
यसैबीच, बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सगरमाथाबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई मन्त्रालयमा सम्मान गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्