तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु 

चितवन । बाघको आक्रमणबाट चितवनको ठोरी गाउँपालिका– ५ सुवर्णपुरमा एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५० वर्षीय कान्छालाल दोङ रहेका छन्। घर नजिकको बारीमा उनको शव बुधबार राति करिब ७ बजे फेला परेको थियो । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार, बुधबार बिहान करिब ११ बजे कान्छालालले घरको केही दुरीमा रहेको बारीमा चरनका लागि २ वटा गोरु बाँधेका थिए ।

दिउँसो करिब २ बजे गोरुको अवस्था हेर्न गएका उनी त्यसपछि फर्केर आएनन् । परिवारजनले कान्छालाल नफर्केपछि प्रहरीको सहयोगमा खोजतलास गरेका थिए । एउटा गोरु भने बाँधेको किला फुत्काएर घरमा आएको थियो । बारीमा गएर हेर्दा अर्को गोरु बाघको आक्रमणमा परी घाइते अवस्थामा भेटिएको थियो ।

त्यहाँबाट करिब ५० मिटरको दुरीमा खाल्डोमा कान्छालालको शव भेटिएको थियो । उनको गाला, घाँटी, टाउको, हात लगायत शरीरका विभिन्न स्थानमा बाघको नङको निशान भेटिएको निरीक्षक राईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button