विचाराधीन विधेयकहरू अगाडी बढाउने विषयमा सभामुख र समितिका सभापतिबीच छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरूको आज पहिलो बैठक बसेको छ ।
सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा विचाराधीन विधेयकहरू अगाडी बढाउने र समितिको कामकारबाहीलाई छिटो छरितो र चुस्त बनाउने विषयमा छलफल भएको छ ।

बैठकपछि सभामुख देवराज घिमिरेले समितिले गतिका साथ काम गर्नुपर्ने, सभाले लिएका दायित्वहरू समितिमार्फत पुरा गर्ने र समितिका कामहरूलाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो ।

यसैगरी कानुन न्याय तथा मानव अधिकार समितिको सभापति विमला सुबेदीले समितिमा रहेका विधेयक र समितिको कामहरूलाई प्रभावकारी रूपमा अगाडी बढाउन र गम्भीर भएर काममा लाग्न सभामुखले आग्रह गर्नुभएको बताउनुभयो ।

यस्तै, अर्थ समितिका सभापति सन्तोष चालिसेले समिति सभापतिको भूमिका, विधेयकहरू अगाडी बढाउने विषय र समितिका कामलाई चुस्त बनाउन सभामुखले निर्देशन दिनुभएको जानकारी दिनुभयो ।
गत सोमवार प्रतिनिधिसभाको १० वटा विषयगत समितिको सभापतिहरू सर्वसम्मत रूपमा चयन हुनुभएको थियो ।









प्रतिक्रिया राख्नुहोस्