तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीघाट सडक सञ्चालनमा 

भोजपुर । निरन्तरको वर्षातको कारण अवरुद्ध भएको मध्य पहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत तिवारी भञ्ज्याङबाट पौवादुङमा गाउँपालिकाको विभिन्न वडामा पुग्ने कच्ची सडक मर्मतपछि पुनःसंचालनमा आएको छ । 

गाउँपालिकाको पहलमा पहिरो हटाउनाका साथै मर्मत सम्भार भएपछि सडक पुन सञ्चालनमा आएको हो । 

बर्षातले सडक अवरुद्ध भएपछि आवतजावतमा समस्या भएका कारण गाउँपालिकाको पहलमा सडक मर्मत सम्भार गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । 

“पहिरोका कारण विभिन्न भागमा सडक अवरुद्ध भएपछि पालिका प्रवेशमा नै समस्या थियो, तर पालिकाको प्रयासमा सडक पुनःसंचालनमा ल्याएका छौँ ।” पालिका अध्यक्ष राईले भन्नुभयो । 

बर्षातका कारण तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीघाट सडकमा क्षति भएपछि यातायातका साधनहरू सञ्चालनमा आउन सकेका थिएनन् । 

तत्कालका लागि सडक खुले पनि बर्षातले बिगारेको तिवारीभञ्ज्याङ हुँदै पालिका प्रवेश गर्ने सडक बजेट अभावका कारण अझै बन्न सकेको छैन । पालिकाको निर्णय अनुसार सडक पुनः निर्माणको लागि केन्द्र र प्रदेश सरकारसँग बजेट माग गरिएको छ । 

पालिकाको बजेटबाट मात्र सडक निर्माण सम्भव नभएकाले सडक निर्माणमा राज्यले पनि सहयोग गर्नु पर्ने गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो । 

पहिरोले सडक भासिँदा तिवारीभञ्याङ मानेडाँडा अधेँरीघाट सडक अवरोध बनेको छ । मध्य पहाडी लोकमार्गको भोजपुर–लेगुवा सडक खण्ड अन्तर्गत तिवारीभञ्याङबाट अधेँरीघाट छुट्ने जिरो पोइन्टमा सडक भासिएको कारण ठुला यातायातका साधनहरू सञ्चालनमा समस्या भएको हो । मुख्य प्रवेश मार्गमा नै करिब दुई सय मिटर सडक भासिएको छ । 

सडक अवरोध हुँदा पौवादुङमा गाउँपालिकाकाको ६ वटा वडाहरू मध्ये दुई नम्बर बाहेक अन्यमा यातायातका साधनहरू सञ्चालनमा समस्या भएको छ । 

सडक भासिएको स्थानको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, प्रमुख जिल्ला अधिकारी लगायतको सरोकारवाला निकायहरूबाट समेत स्थलगत अनुगमन भई सकेको छ । 

तिवारीभञ्याङ–मानेडाँडा– अधेँरीघाट पञ्चकन्या कृषि सडकको दुरी करिब ३५ किलोमिटर रहेको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button