मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु
कञ्चनपुर । कञ्चनपुर स्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बेलडाँडी गाउँपालिका १ आनन्द टोलमा मङ्गलवार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा सोही वडाको राधाकृष्ण टोल बस्ने अन्दाजी २५ वर्षीय सुनिल सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरले जानकारी दिनुभयो ।
हुलाकी सडकखण्डमा परेको ठुलो खाल्डोमा उछिट्टिएर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका सार्कीको महाकाली प्रादेशिक अस्पताल पुर्याउँदा मृत्यु भएको बताइएको छ ।
हुलाकी सडकखण्ड कालोपत्रेका लागि ठेक्का सम्झौता भएको सात वर्ष पुग्नै लाग्दा पनि कालोपत्रेको जिम्मा पाएका निर्माण कम्पनीहरूले समयमै काम नगर्दा ठाउँ ठाउँमा खाल्डाखुल्डी परेका छन् । २०७३ सालमा अढाई वर्षमा कालोपत्रे सक्ने गरी सम्झौता गरेका निर्माण कम्पनीले छ पटक म्याद थप्दा समेत काम पूरा गरेका छैनन् ।








प्रतिक्रिया राख्नुहोस्