उपप्रधानमन्त्री खड्कासँग भारतको एनडिसीका शिक्षार्थीको शिष्टाचार भेट
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भारतको नेशनल डिफेन्स कलेज (एनडीसी), नयाँ दिल्लीका एयर भाइस मार्सल मनिषकुमार गुप्ता, एभिडिएसएम, एसडिएस (एयर) एनडिसी नेतृत्वमा शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमण दलका सदस्यहरुले शिष्टाचार भेट गर्नुभएको छ ।

आज रक्षा मन्त्रालय सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यता नेपालको परराष्ट्र नीति सञ्चालनका आधार रहेको बताउँदै सार्वभौमसत्ता, समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले नेपालको परराष्ट्र सम्बन्धलाई मार्गदर्शन गरेको उल्लेख गर्नुभयो। संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानमा पनि सहभागी भएर नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा विशेष योगदान दिएको उहाँले बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले रक्षासँग सम्बन्धित अध्ययनको आवश्यकता सामान्य शैक्षिक संस्थाहरूले पूरा गर्न नसक्ने हुँदा विभिन्न देशहरूमा यससम्बन्धी संस्थाहरूको स्थापना र सञ्चालन भइरहेको सन्दर्भमा नेपालमा समेत रक्षासम्बन्धी अध्ययन संस्थाको आवश्यकता महसुस गरिएको बताउनुभयो ।

प्रतिनिधिमण्डलको नेतृत्व गर्नु हुने भारतीय एयर-भाइस मार्सलले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध तथा नेपाली सेना र भारतीय सेनाबिचको सम्बन्ध सुमधुर रहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्