तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयताले नै जनताका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाउनुपर्छ : सचिव अर्याल

लुम्बिनी । नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनताका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताउनुभएको छ । 

नेकपा एमाले सङ्घीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने निष्कर्षमा नपुगेको बताउँदै सचिव अर्यालले सङ्घीयताप्रति एमाले स्पष्ट रहेको बताउनुभयो । 

पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका अवसरमा आज बुटवलमा विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा नेता अर्यालले प्रदेश अधिवेशनमा कुनै नेताको नाममा गुट नभएको दाबी गर्नुभयो । उहाँले प्रदेश अधिवेशनबाट सही र सक्षम नेतृत्व चयन हुने बताउनुभयो । 

उहाँले अधिवेशनले सकेसम्म सर्वसम्मत र त्यो नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने पनि धारणा राख्नुभयो । “सर्वसम्मत भनेको सहमति र समझदारी हो”, उहाँले भन्नुभयो, “सहमति र समझदारी गरेर आउँदा चुनाव नै गर भन्न मिल्दैन ।” 

एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भदौ १६ र १७ गते बुटवलमा हुने भएको छ । अधिवेशनका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने पार्टी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिनुभयो । 

प्रदेश अधिवेशनका लागि प्रदेशका १२ जिल्लाबाट एक हजार चार  प्रतिनिधिको चयन भइसकेको एमालेले जनाएको छ । 

अधिवेशनमा महिला ३३ प्रतिशत पुर्‍याउने प्रयासमा रहेको बताउँदै उहाँले उत्पीडित, महिला, युवाको फरक(फरक कलस्टर बनाएर प्रतिनिधि छनोट भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button