तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका सबै विद्यालयहरू अनिश्चित कालीन बन्द गरेर शिक्षकहरू आन्दोलित

कञ्चनपुर। कञ्चनपुरका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरू सोमबारदेखि अनिश्चित कालीन बन्द गरेर शिक्षकहरू आन्दोलित भएका छन् । भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल वीरेन्द्र जोशीमाथि एक साता अघि कुटपिट भएको घटनालाई लिएर आइतबार भीमदत्तका सबै शिक्षण संस्था बन्द गरेको नेपाल शिक्षक महासङ्घले सोमबारदेखि जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयमा अनिश्चित कालीन पठनपाठन बन्द गर्ने जनाएको छ । बन्दले विद्यार्थीको पढाई प्रभावित बनेको छ ।

सोमबार बिहान ९ बजेदेखि ¥याली निकाली जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको जनाइएको छ । सोमबार साँझसम्म माग सम्बोधन नभएमा थप आन्दोलनका कार्यक्रम तय गरिने जिल्ला स्तरीय आन्दोलन परिचालन समितिले जनाएको छ । प्रहरीको नियन्त्रणमै जोशीमाथि कुटपिट भएको घटनाको उच्चस्तरीय छानबिन टोली गठन गरी अनुसन्धान गर्नुपर्ने, जोशीलाई विद्यालय हाताभित्रबाट पक्राउ गरेर लैजाने प्रहरीलाई निलम्बित गरी कारबाही हुनुपर्ने, जोशीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्नु पर्ने लगायतका माग नेपाल शिक्षक महासङ्घले राखेको छ ।

गत साताको आइतबार सिद्धनाथ माविका लेखापाल वीरेन्द्र जोशीले कक्षा १० मा अध्ययनरत एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सोही विद्यालयका विद्यार्थी, अभिभावक र आसपासको क्षेत्रका व्यक्तिहरू आन्दोलित भएका थिए । त्यस क्रममा प्रहरीले लेखापाल जोशीलाई नियन्त्रणमा लिएकै अवस्थामा उक्त भिडले विद्यालय हाताभित्रै जोशीमाथि आक्रमण गरेको थियो । निर्घात कुटपिटबाट घाइते लेखापाल जोशीको अहिले पनि धनगढीस्थित निसर्ग अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ ।

लेखापाल जोशीको परिवारले दिएको किटानीका आधारमा कुटपिटमा संलग्न ७ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा लेखापाल वीरेन्द्र जोशी विरुद्ध पनि छात्राको परिवारले जाहेरी दिएको छ । ती दुवै जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button