तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा आजदेखि सात दिने एएफसी ‘सि’ कोचिङ कोर्ष सुरु 

चितवन ।  चितवनमा एएफसी ‘सि’ कोचिङ कोर्ष सुरु भएको छ । चितवन जिल्ला फुटबलको आयोजनामा आज (आइतबार) बाट प्रशिक्षण सुरु भएको हो । 

प्रशिक्षणको आज एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गर्नुभयो  । कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले राष्ट्रका लागि खेल्ने खेलाडीहरूको भविष्य सुनिश्चित हुन नसक्नु चिन्ताको विषय भएको बताउनु भयो  । यसका लागि सबै तहको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो ।

महानगर खेल क्षेत्रको विकासमा गम्भीर भएर अघि बढिरहेको उहाँको भनाइ थियो । उहाँले कोचिङ कोर्षको सफलताको कामना गर्दै यसले चितवनको फुटबल विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले चितवनले प्रशिक्षक उत्पादनमा पनि जोड दिइरहेको बताउनु भयो । उनले प्रशिक्षणबाट सी लाइसेन्स प्राप्त गर्ने प्रशिक्षकहरूलाई प्रशिक्षणको अवसर प्रदान गर्नका लागि स्थानीय तहसँग समन्वय गरिने समेत बताउनु भयो  । कार्यक्रममा भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले, सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिका प्रिन्सिपल यज्ञबिलास पौडेल (वाइबी) लगायतले बोल्नु भएको थियो  ।

भरतपुर ७ स्थित कृष्णपुरको मैदानमा एक साता चल्ने प्रशिक्षणमा २८ जना सहभागी हुनुहुन्छ  । जसमा चितवन जिल्ला भित्र २२ जना रहनु भएको छ भने अन्य ६ जना बाहिरी जिल्लाका हुनुहुन्छ । जसमा पूर्व राष्ट्रिय खेलाडी रविन श्रेष्ठ, दिलीप क्षेत्री लगायत हुनुहुन्छ । उहांँहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का टेक्निकल डाइरेक्टर हरि हड्का र हेड अफ कोच एजुकेसन सन्जित सिंहले प्रशिक्षण दिनु हुनेछ । चितवनमा यस अघि २०७८ फागुनमा ‘डी’ लाइसेन्सका लागि कोचिङ कोर्ष भएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button