‘जनचाहना पुरा गर्न सङ्घीयतालाई बलियो बनाउनुपर्छ’
जनकपुरधाम । नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले संविधानको भावना अनुसार सङ्घीयतालाई मजबुत बनाउनमा कही कतैबाट कन्जुस्याइँ गर्न नहुने बताउनुभएको छ ।

महावीर युवा कमिटीका नव निर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रमको आज जनकपुरधाममा उद्घाटन गर्दै नेता निधिले विगतका आन्दोलनमा क्रममा अभिव्यक्त भएका जनचाहना पुरा गर्न स्थानीय तहलाई मजबुत बनाउन जरुरी रहेको बताउनुभयो ।

उहाँले काँग्रेस र मधेश एक अर्काको पूरक भएको भन्दै मधेशमा काँग्रेस बलियो भयो भने मधेश बलियो हुने भएकाले काँग्रेसलाई बलियो बनाउन युवाहरूसँग आग्रह गर्नुभयो ।
नेता निधिले जनकपुरधामको विकासका लागि आवश्यक पर्ने सडक, रेल तथा हवाई सेवाको विकास र विस्तार भएकाले अब जनकपुरधामको आर्थिक विकासको काममा अग्रसर हुन युवाहरूलाई अनुरोध गर्नुभयो ।

महावीर युवा कमिटीका अध्यक्ष बलराम साहको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह सहितका वक्ताहरूले युवा क्लबका कामको प्रशंसा गर्नुभएको थियो ।
कमिटीका नयाँ अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षतामा ११ सदस्यीय निर्वाचित कार्यसमितिको शपथ ग्रहण भएको हो ।








प्रतिक्रिया राख्नुहोस्