ज्येष्ठ नागरिकको हक सुनिश्चिततामा जोड

गण्डकी । पोखरा वृद्धाश्रमको आज आयोजित २६औँ वार्षिक साधारण सभामा ज्येष्ठ नागरिकलाई समाजमा सम्मानपूर्वक बाँच पाउनुपर्ने हक सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ ।
संविधान एवं अन्य ज्येष्ठ नागरिक सम्बद्ध ऐन तथा कानुनले ज्येष्ठ नागरिकको हकलाई सुनिश्चित गरे पनि कतिपय ज्येष्ठ नागरिक अहिले पनि हक अधिकारबाट वञ्चित भएको वक्ताहरूले बताएका छन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले ज्येष्ठ नागरिकले समाजमा सम्मानपूर्वक बाँचन पाउनुपर्ने बताउँदै त्यसको पहिलो दायित्व परिवारको र दोस्रो दायित्व राज्यको भएको बताउनुभयो । विभिन्न हकसहितको नागरिक संविधानले परिकल्पना गरेको बताउँदै उहाँले उल्लेखित हक अधिकारको कार्यान्वयन अपरिहार्य भएको बताउनुभयो । ज्येष्ठ नागरिकको संरक्षणमा पोखरा वृद्धाश्रमले गरेको योगदानको उहाँले प्रशंसा गर्नुभयो ।
प्रदेशसभा सदस्य भीम कार्कीले पोखरा वृद्धाश्रमले अप्ठ्यारोमा परेका ज्येष्ठ नागरिकलाई साहारा दिएको बताउँदै समाजमा उहाँहरूको सम्मानपूर्वक बाँच्न पाउनुपर्ने हक, अधिकारलाई सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो ।
पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले ज्येष्ठ नागरिकको संरक्षणमा चाहे अनुसारको व्यवस्थापन अझै गर्न नसकिए पनि निरन्तर रूपमा लागिरहेको बताउनुभयो । समुदायमा आधारित वृद्धाश्रमका रूपमा पोखरा वृद्धाश्रमले ज्येष्ठ नागरिकको संरक्षण गर्दै उहाँहरूको हक, अधिकार सुनिश्चित गरिरहेको उहाँले जानकारी गराउनुभयो ।
ज्येष्ठ नागरिकको बिर्सने रोगको निःशुल्क उपचार, फिजियोथेरापीको व्यवस्थासँगै स्वास्थ्य सहायकसमेतको व्यवस्थापन गरिएको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । वृद्धाश्रमले विभिन्न तीन टोलमा घुम्ती स्वास्थ्य सेवा सञ्चालनको योजना बनाइरहेको उहाँको भनाइ थियो ।
वार्षिक साधार सभाका अवसरमा पत्रकारिता एवं लेखनका माध्यमबाट महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार’बाट रविन्द्र माकाजुलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा पोखरा वृद्धाश्रमका उपाध्यक्ष केशव लम्सालले ज्येष्ठ नागरिकको मिर्गौला लगायतको रोगको उपचारका लागि सहयोग पुर्याउन स्व छोरा ध्रुव लम्सालको स्मृतिमा रु एक लाखको स्वास्थ्य कोष स्थापनार्थ चेक हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष राधिका शाही योगी, नेपाल निवृत्त समाजका केन्द्रीय उपाध्यक्ष तोयानाथ लामिछानेलगायतको सहभागिता थियो ।रासस








प्रतिक्रिया राख्नुहोस्