तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सद्भाव बिगार्न खोज्नेसँग सतर्क हुनुपर्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा केही समययता विभिन्न नाम र बहानामा मिलेर बसेको नेपाली समाजको सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट सबै नेपाली सचेत रहनुपर्ने बताउनुभएको छ ।

चाँगुनारायण नगरपालिका ५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको आज उद्घाटन गर्दै उहाँले देशमा कुनै पनि बहानामा साम्प्रदायिक द्वन्द्व भड्काउन खोज्ने तत्त्वप्रति आम नागरिक, तिनै तहका सरकार र सबै राजनीतिक शक्तिहरू सचेत हुनुपर्ने बेला आएको बताउनुभयो ।

सदियौँदेखि देशमा विभिन्न भूगोल, ठाउँ र समाजमा मिश्रित रुपमा धेरै जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा सबै एकतामा बाँधिँदै आएको बताउँदै उहाँले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम कही कतैबाट हुनु नहुनेमा जोड दिनुभयो ।

संघ, प्रदेश र स्थानीय तहको सरकार मिलेर राष्ट्रिय एकता कायम राख्दै विकासको अभियानलाई पुरा गर्न सरकार, जनप्रतिनिधि र जनता एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । विकासका लागि विभिन्न तहका सरकारबाट बजेटको समन्वय गरेर आवश्यकताको पहिचान गरी एउटै आयोजनामा दोहोरो बजेट नपर्ने गरी व्यवस्थित रुपमा विकासका योजना अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

जनप्रतिनिधिलाई कुनै पनि किसिमको लोभबाट मुक्त हुन निर्देशन दिँदै उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले भन्नुभयो, “तपाईँहरू सबै लोभ र मोहबाट मुक्त हुनुहोस्, लोभ र मोहबाट मुक्त हुन सके डर मुक्त हुन्छ, भय मुक्त हुन्छ, अनि त्यसबाट तागत आउँछ तब देशमा भ्रष्टाचार नियन्त्रण हुन्छ र सुशासन आउँछ । हो, त्यही अभियानमा हिँड्नुपर्छ ।”

देशको अर्थतन्त्र अहिले ऋणात्मक अवस्थामा रहेको र सरकारले चाहेको जति बजेट छुट्टाउन सक्ने अवस्था नहरेको भन्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल बजेट सुधारका लागि लागिरहनुभएको र सरकार आर्थिक उन्नतिको विकासमा लागेकाले यो समस्या धेरै नरहने बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “जनताको ७० वर्षदेखिको त्याग र बलिदानबाट आजको उपलब्धी हासिल गर्दै जनताकै मतबाट निर्वाचित भएर आएका हौँ, जनताको मौलिक हक, अधिकार, विकासका लागि समीक्षा गर्दै संविधानको कार्यान्वयनसँगै जनताबाटै चुनिएर सरकार, संसदमा, प्रदेशमा र स्थानीय तहमा आएको हौ भन्ने हेक्का सधैँ राख्न जरुरी छ ।”

उहाँले छालिङ्ग जाने सडकको बिस्तारदेखि स्मार्ट सिटीको निर्णय नहुँदा जनताको परेको समस्याका बारेमा सम्बन्धित निकायसँग छलफल गरी समस्याको निकास निकाल्न पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button