पोखरामा असोज दोस्रो साता इन्टर कलेज ब्यान्ड प्रतियोगिता हुने
पोखरा । पर्यटकीय नगरी पोखरामा असोज दोस्रो साता इन्टर कलेज ब्यान्ड प्रतियोगिता हुने भएको छ ।
पोखरा प्रदर्शनी केन्द्र परिसरमा रहेको डोममा असोज १२ र १३ गते उक्त प्रतियोगिता हुने भएको हो ।

पोखरेली कलाकारहरूको साझा संस्था पोखरा साङ्गीतिक कलाकार सङ्घको आयोजनामा हुने उक्त प्रतिस्पर्धामा देशभरका कलेजमा रहेका साङ्गीतिक ब्यान्डहरूले प्रतिस्पर्धा गर्न पाउने संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) ले बताउनुभयो ।
कार्यक्रमबाट पोखराको सङ्गीत क्षेत्रको प्रवर्द्धन सहित पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ । प्रतिस्पर्धाका लागि सहभागी हुन चाहने कलेज ब्यान्डहरूले फारम भरेपछि डिजिटल अडिसन दिनुपर्ने उहाँले बताउनुभयो । जसका लागि कलेज ब्यान्डले कभर सङ्ग गाएर त्यसको भिडियो पठाउनुपर्नेछ ।
डिजिटल अडिसनको भिडियो भदौ २९ गतेसम्ममा पठाई सक्नुपर्ने अध्यक्ष गुरुङले बताउनुभयो । फिजिकल अडिसनबाट छनौट भएकाहरू सेमिफाइनलमा पुग्ने उहाँले जानकारी दिनुभयो ।
इन्टर कलेज ब्यान्ड कम्पिटिसनका लागि शुक्रबारदेखि फारम भर्न सकिने भएको छ । फारम भदौ २५ गतेसम्म भर्न सकिने र त्यसको शुल्क दुई हजार निर्धारण गरिएको संघका अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार इन्टर कलेज ब्यान्ड कम्पिटिसनका लागि फारम पेपे पिज्जा रेष्टुरेट (भाटभटेनीको माथिल्ला तला) न्यूरोड, जोजलपा नेवारी किचन तेर्सापट्टी, देउराली साउन्ड एण्ड म्युजिक रामबजार, एसके साउन्ड महेन्द्र पुल, पोखरा म्युजिक हाउस र गिटार नेसन न्यूरोडमा पाइन्छ ।
प्रतियोगिताको उपाधि विजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उप-विजेतालाई नगद ५० हजार र तेस्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव भास्कर ध्वज श्रेष्ठले बताउनुभयो ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाई पनि नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयाे ।








प्रतिक्रिया राख्नुहोस्